आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित १८ जना विरुद्ध प्रहरीमा जाहेरी

सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित १८ जना विरुद्ध प्रहरीमा जाहेरी

पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनविरुद्ध पनि जाहेरी ।


  • ढोरपाटन संवाददाता
  • माघ २३ २०८०, मंगलबार
फाइल तस्वीर ।

पोखरा/ मकैको ‘खोया’ काण्डपछि सतहमा आएको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पीडितहरुले कास्की प्रहरीमा जाहेरी दिएका छन । सूर्यदर्शन सहकारीलाई पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले नै समस्याग्रस्त सहकारी ठहर गरेको छ ।

यो सहकारीले पोखराका १८ हजार सात सय बचतकर्ताको १ अर्ब ३५ करोड अपचलन गरेको आरोप लागेको छ । सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई हुन । उनले सहकारीबाट गोर्खा मिडिया नेटवर्कको नाममा ग्यालेक्सी फोर के टेलिभिजनका लागि करोडौँ रकम लगानी गरेको प्रतिवेदनहरुले खुलाएका छन ।

रवि यस प्रकरणमा जोडिएको ग्यालेक्सी टेलिभिजनबाट नै हो । जतिबेला टेलिभिजनमा लगानी भएको थियो, त्यतिबेला रवि उक्त मिडियामा प्रबन्ध निर्देशक थिए ।
सोहीकारण बचतकर्ताको रकम डुब्नुमा रवि पनि जिम्मेवार रहेको भन्दै पीडितहरुले कास्की प्रहरीमा सोमबार रवि सहित १३ जना व्यक्ति तथा संस्थाविरुद्ध अर्को जाहेरी दिएका हुन । गत पुस ७ गते पोखरामा अमरसिंह चोकमा आयोजित रास्वपाको एक कार्यक्रममा एक युवाले रविमाथि खोया प्रहार गरेका थिए । सहकारीपीडित भनिएतापनि ती युवाको सहकारीसँग कुनै साइनो नरहेको प्रहरीले पुष्टि गरेको छ । तर, उक्त ‘खोयाकाण्ड’ पछि नै रवि टेलिभिजनमा हुँदा नै सहकारीमा करोडौँ लगानी भएको र उनको नाममा पुलेसो कर्जासमेत खडा गरिएको प्रमाणहरु भेटिएका छन ।रविले सहकारीमा आफ्नो संलग्ना अस्विकार गरेतापनि पीडितहरु भने त्यसलाई मान्न तयार छैनन ।

‘अनौपचारिक रुपमा छानविनका लागि हामीले कास्की प्रहरी प्रमुख एसपी मोहन थापालाई जाहेरी दिएका छौँ, उहाँले जाहेरी लिनुभएको छ,’ सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले भने ।
अनौपचारिक रुपमा छानविन गर्ने भनेपछि जाहेरीमा के लेखिएको छ भन्ने कुरा अहिले नै नखुलाउने श्रेष्ठले भने । तर, रास्वपा सभापति लामिछाने सहित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोलाका विरुद्धमा जाहेरी दिएको उनले बताए ।

‘रवि लामिछानेले गोर्खा मिडिया प्रालिमका त्यत्रो पैसा कसरी लैजानुभयो ? किन दिनुभएन ? गोर्खा मिडिया प्रालिको ग्यालेक्सी टिभीले हामीलाई ३० करोडको तमसुक बनाएर दिएको अवस्था थियो, जिबी राईले । ग्यालेक्सी टिभीको ३० करोडको सम्पत्ति पोखराको हो भनेर हामीलाई दिनुभएको थियो । यसको पनि छानविन हुनुपर्छ भनेर हामीले तमसुक सहित सबुत प्रमाणसहित प्रहरीलाई बुझाएका छौँ,’ श्रेष्ठले भने । महानगरको प्रतिवेदन बाहेक सहकारीकै सफ्टवेयर पनि छानविन गर्नुपर्ने उनले बताए ।

यसबाहेक नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, नेचर नेष्ट, वारिसान इन्फोमेसन टेक्नोलोजी, स्प्रिङ उड रियलस्टेट, सोनी क्यापिटल, ग्रिजी स्पान, गोर्खा ग्रुप इन्भेस्टमेन्ट र गोर्खा आयुर्वेद प्रालि विरुद्ध पनि उनीहरुले जाहेरी दिएका छन । यसबाहेक पाँचवटा जीबि राई ले नै सञ्चालन गरेका सहकारी छन ।यी सबै कम्पनी कुनै न कुनै माध्यमबाट जिबी राइसँग नै जोडिएका छन ।

‘अब यसलाई प्रक्रियामा लैजाँदैछौँ । सूर्यदर्शन सहकारीको छानविन प्रतिवेदन हेर्दा सहकारीको पैसा कुनकुन संस्थामा गयो, ककसले लगे भन्ने विषयलाई लिएर प्रतिवेदनबाट थोरैको नाममा जाहेरी दिएका छौँ । यो संख्या बढेर सय÷दुई सय पनि पुग्न सक्छ,’ श्रेष्ठले भने ।अहिले जाहेरी दिएका सबै आरोपितहरु नयाँ हुन भने जाहेरीकर्ताहरु चाहिँ नयाँ र पुराना मिसिएका छन ।

उनका अनुसार प्रहरीले मंगलबार देखि अनुसन्धान गर्ने जनाएको बताए । पीडितहरुले एसपी मोहन थापालाई जाहेरी बुझाएका थिए । प्रहरी स्रोतका अनुसार यही विषयलाई लिएर एसपी थापाले प्रमुख जिल्ला अधिकारीसँग सोमबार नै छलफल गरेका थिए । कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले पनि सहकारीको विषयमा छलफल भएको चाहिँ स्वीकार गरेनन ।

पोखरामा सञ्चालित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ जीबि राई समूहले हिनामिना गरेको निष्कर्ष महानगरको अध्ययन समितिको छ ।
पोखरा महानगरको विज्ञ टोलीको राय प्रतिवेदनका आधारमा सहकारीका सञ्चालक, लेखा समिति संयोजक, सदस्य, लेखा अधिकृत र ऋण अधिकृतसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । अहिलेसम्म उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य भवीश्वर अर्याल, पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ मात्रै पक्राउ परेका छन ।

महानगरको प्रतिवेदनमा सहकारीको रकम योजनाबद्ध रूपमा विभिन्न फर्ममा अवैध लगानी गरिएको, नक्कली कम्पनी खडा गरेर पनि पैसा हिनामिना गरिएको, कमसल धितो र बिनाधितो पनि ऋण लगानी गरेको उल्लेख छ ।

पीडितहरुले यसअगाडि नै प्रहरीमा विस्तृत अध्ययनका लागि छानविन गर्नको लागि जाहेरी दिन खोजेतापनि प्रहरीले भने फिर्ता पठाइदिएको थियो ।कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जाहेरी परेको स्विकार गरे ।

‘१८ जना विरुद्ध जाहेरी दिनुभएको छ । हामीले अनुसन्धान गर्दैछौंँ, एउटा निवेदन छाडेर जानुभएको छ, १८ जना विरुद्ध । त्यो लिएर हामी विस्तृत रुपमा हेर्दैछौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->