पर्वत/ सदरमुकाम कुश्मा बजारमा रहेको शिवालय माध्यमिक विद्यालयका विद्यार्थीहरूले सोमबार अपराह्न विद्यालयमा नै योगको अभ्यास गरे ।
मोरङ घर भई हाल काठमाडौँमा बस्दै आएका पतञ्जलि अन्तर्गतको युवा नेपाल समितिका संयोजक तथा पतञ्जलि योग समितिका केन्द्रीय सदस्य लोकनाथ खनालले उनीहरूलाई योगमार्फत विभिन्न शारीरिक अभ्यास गराइरहेका थिए ।
भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका प्रमुख दिवाकर पौडेलले बिरामी भए पनि मात्रै गलत व्यवहार र खानपानबाट टाढिने शैलीले थप स्वास्थ्य जोखिम आउने भएकाले त्यस्तो अवस्था आउन नदिनको लागि विद्यालयमा पुगेर योग अभ्यास सिकाइएको बताए ।
शिवालय मन्दिर संरक्षण समिति कुश्माको आयोजनामा कुश्मा नगरपालिका तथा कुश्मा नगरपालिका वडा नं. ४, ५, ६ र ७ तथा इनरह्वील क्लब अफ पर्वतको सहयोगमा गत पुस २० गतेदेखि योग अभियान चलिरहेको छ । ‘गरौँ योग, रहौँ निरोग’ भन्ने अभियानका लागि महिला पतञ्जलि योग समिति पर्वत र शिवालय विवेकशील नारी समूहले समन्वय गरिरहेका छन् ।
बडागाउँमा रहेको सशस्त्र प्रहरी बल नं २५ गण हेडक्वार्टर सहित सदरमुकाम कुश्मा बजारका विभिन्न संघ संस्था, क्लब, समूह लगायतमा पनि योग अभ्यासहरू गराइएको छ । काठमाडौंसहित अन्य ठाउँबाट आएका योग गुरुहरूले पुसदेखि फागुनसम्म सिकाउँदा स्थानीयलाई नै प्रशिक्षक रूपमा तयार गरेर नियमित योग अभ्यास सञ्चालन गर्ने तयारी छ ।





