शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

रवि लामिछाने मुछिएको सूर्यदर्शन सहकारी ठगी प्रकरणको छानबिन गर्दै सीआईबी

रवि लामिछाने मुछिएको सूर्यदर्शन सहकारी ठगी प्रकरणको छानबिन गर्दै सीआईबी

कास्की कारागारमा रहेका आइटी शाखा प्रमुख भविश्वरसँग सोधपुछ ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ८ २०८०, मंगलबार

पोखरा/ सर्वसाधारणको करोडौं रकम हिनामिना भएको सूर्यदर्शन ऋण तथा बचत सहकारी घोटाला प्रकरणको अनुसन्धान गर्ने क्रममा पोखरा आएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हाल पुर्पक्षका लागि कास्की कारागारमा रहेका व्यक्तिहरुबाट महत्वपूर्ण सूचनाहरु संकलन गरेको छ ।

शुक्रबार पोखरा आएको सीआईबीको दुई सदस्यीय टोलीले कास्की प्रहरीसँगको समन्वयमा कारागारमा रहेका सूचना प्रविधि (आईटी ) प्रमुख भविश्वर अर्याललाई जिल्ला प्रहरी कार्यालय हातामै ल्याएर अनुसन्धान गरेको प्रहरी स्रोतले जानकारी दियो ।

‘सर्भरमा (हार्ड ड्राइभ )भएका सूचनाहरु केलाउनुपर्ने भएकाले आइटीमा काम गर्ने व्यक्तिसँग सोधपुछ गरिएको हो,बाँकी कुरा त अनुसन्धानपछि आउला,’ कास्की प्रहरी स्रोतले भन्यो । भविश्वरसँगको सोधपुछपछि हाल सीआईबीको टोलीले पोेखराको नालामुखमा रहेको सूर्यदर्शन सहकारीको कार्यालय पुगेर त्यहाँ रहेका प्रमाणहरु केलाउने काम गरिरहेको छ । भविश्वर गएको पुस १७ गते अर्का संचालक महेन्द्र भोटे भनिने शिवबहादुर गुरुङसहित आफैं अदालतमा उपस्थित भएका थिए ।

सीबीआईको आर्थिक अपराध हेर्ने शाखाका प्रहरी निरीक्षकसहितको टोली गएको माघ २४ गते काठमाडौंमा बरामद भएको सूर्यदर्शन सहकारीसँग सम्बन्धित चारवटा सर्भर बोकेर पोखरा आएको हो । नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक (डीआईजी) छविलाल जोशीको शंखमुलस्थित घरमा छापा मार्दा ती सर्भर फेला परेका थिए । सर्भरमा भएका महत्वपूर्ण सूचनाहरुमा थप अनुसन्धान आवश्यक देखिएको र मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीमै दर्ता भएकाले सीआईबीको टोली पोखरा आएको हो । प्रहरीले नै सीआईबीलाई थप अनुसन्धानको लागि आग्रह गरेको थियो ।

‘अनुसन्धान भनेको टेक्निकल पाटोको हो, हार्ड ड्राइभबाट खोज्ने कुरा भइरहेको छ हामीले अनुसन्धानको क्रममा सम्बन्धित व्यक्तिहरुको सपोर्ट लिइरहेका छौँ,बाँकी कुरा अनुसन्धानपछि नै जानकारी हुन्छ,’कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार बिकले भने,‘ अनुसन्धानमा कति दिन लाग्छ भन्ने पनि भन्न सकिन्नँ ।’

सूर्यदर्शन सहकारीका मुख्य अभियुक्त गीतेन्द्र बाबु (जीवी) राईको समूहले कास्कीमा मात्रै १९ हजार बचतकर्ताहरुको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको अभियोग छ ।
सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी) सहित १९ जनाविरूद्ध भदौ २५ गते पक्राउ पुर्जी जारी भएको थियो । गितेन्द्र अहिलेसम्म फरार छन् भने हालसम्म सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र उपाध्यक्ष कैलाश दर्लामी, पूर्वसंचालक समिति सदस्य शिवकुमार गुरुङ ( महेन्द्र भोटे) , गल्याङ ९,स्याङ्जाका बासिन्दा तथा संचालक समितिका सदस्य एवं आइटी प्रमुख भविश्वर अर्याल र अर्का सदस्य प्रमोद भट्टराई पुर्पक्षको लागि थुनामा छन् ।सहकारीको अर्बौं रुपैयाँ हिनामिना गरेर जीवी राई, धीरजकुमार दास, हेमन्त अधिकारी, थानबहादुर बुढामगर, भूपेन्द्र राई, अनुज नकर्मी, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका, सृष्टि मानन्धर, बुद्धि गुरुङ र सुरज श्रेष्ठ फरार भएका छन् ।

पोखरा महानगरपालिकाद्धारा गठित छानबिन समितिले सूर्यदर्शन सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई पनि डामेको छ । यद्यपि, रविले आरोप अस्वीकार गर्दै आइरहेका छन् । रवि कार्यकारी निर्देशक रहेको ग्यालेक्सी फोरके टेलिभिजनमा समेत सूर्यदर्शन सहकारीको ३० करोड लगानी रहेको कागज पनि सार्वजनिक भइसकेको छ । रविसहितका अन्य व्यक्तिहरु छानबिनको दायरामा नआएपछि सूर्यदर्शन सहकारी पीडितहरुले रास्वपा अध्यक्ष रवि र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसहित थप १८ जनाविरुद्ध पनि छानबिन हुनुपर्ने मागसहित कास्की प्रहरीका पुरक उजुरी दिएका छन् । त्यसमाथि पनि छानबिन भइरहेको कास्की प्रहरीले जनाएको छ ।

छानबिन समितिको सिफारिसको आधारमा सरकारी वकिलको कार्यालयले १९ जनालाईमात्र प्रतिवादी बनाएको तर प्रतिवेदनमा समेटिएका २ देखि ३ सय व्यक्तिलाई प्रतिवादी बनाएर जानुपर्ने संघर्ष समितिको माग छ । संघर्ष समितिका संयोजक किरण श्रेष्ठ महानगरले गठन गरेको छानबिन समितिको प्रतिवेदनमा नाम भएकाहरु, गलत प्रक्रियाले पैसा लगेर लामो समयसम्म एकपैसा पनि फिर्ता नगरेका र गलत तरिकाले कारोबार गरेका विभिन्न व्यक्ति, संघ÷संस्थालाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरिएको बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->