पोखरा / नेवा पत्रकार पुचः कास्कीले आधारभूत पत्रकारिता तालिम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका ९ को सहयोगमा नेवा पत्रकारले एक दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न गरेको हो ।
मंगलबार सम्पन्न तालिममा ४० जना नेवा तथा गैर नेवा समुदायका पत्रकार सहभागी थिए । तालिमको उद्घाटन सत्रमा बोल्दै वडा नं. ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले सञ्चारकर्मीहरुलाई तालिम प्रदान गर्न पाउँदा खुसी लागेको सुनाए । सामाजिक संघसंस्थाहरुको राम्रो काममा वडाले सदैव साथ दिदैँ आएको सुनाउँदै राम्रा कामलाई प्रोत्साहन गर्न र नराम्रा कामहरुको बारेमा खबरदारी गर्न तालिममा सहभागिहरुलाई आग्रह गरे ।
पत्रकार दीपेन्द्र श्रेष्ठ, सन्देश श्रेष्ठ तथा सञ्जय मल्लले प्रशिक्षण गराएका थिए । कार्यक्रममा नेवा खलः कास्की अध्यक्ष अशोक पालिखेले कास्कीमा नेवा संस्कृति जगेर्ना गर्ने उद्देश्यले विभिन्न नेवा खलः, वा कचाः खलः नेवा मिसा पुचः तथा नेवा पत्रकार पुचः स्थापना गरिएको बताए । उनले नेवा भाषा संस्कृति संरक्षण गर्नका लागि विभिन्न पुचःहरुको सहयोगमा विभिन्न तालिम समेत सञ्चालन गरिरहेको बताए ।
तालिमको समापन गर्दै अध्यक्ष अनिशा श्रेष्ठले नेवा पत्रकार पुचः ले समाचार लेखन तालिम पहिलोपटक आयोजना गरेको बताइन्।
कार्यक्रममा पोखरा ९ का वडा सचिव कुलराज पौडेल, वडासदस्य लक्ष्मी पहारी, नन्दराम तिवारी, नेवा ल्याम्ह पुचः कास्कीका अध्यक्ष विनीत जोजिजु, नेवा मिसा पुचः कास्की अध्यक्ष संगीता बज्राचार्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीका महासचिव धनबहादुर गुरुङ, फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद गुरुङ, मिस नेवा ११३८ का विजेता बुद्धाचार्य लगायत विभिन्न संघसंस्थाका व्यक्तिहरुको सहभागिता थियो ।





