पोखरा/पोखरामा मोटरसाइकलको स्वरुप बिगार्ने ८ वर्कसपलाई कारवाही गरिएको छ । प्रहरीको अभियानअन्तर्गत विगत सात महिनामा मोटरसाइकलको स्वरुप परिवर्तन गराउने वर्कसपका सञ्चालक र मोटरसाइकल धनीलाई कारवाही गरिएको हो ।
आइतबार स्वरुप परिवर्तन गरिएका मोटरसाइकल सार्वजानिक गर्दै पुनः पहिलाकै अवस्थामा ल्याउन लगाएको प्रहरीले वर्कसप सञ्चालकहरुलाई समेत पक्राउ गरेको हो ।
प्रहरीले पोखरा–८ सिर्जनाचोकस्थित ३६० मोटर्स वर्कसपका सञ्चालक सुसिल भुजेल, बम इन्फिल्ड सेन्टरका सञ्चालक मोहम्मद रुस्तम, पोखरा कस्टुमका सञ्चालक सागर झाक्री, पोखरा–९ नयाँबजारस्थित रोयल इन्फिल्ड शोरुम सञ्चालक सुकबहादुर गुरुङ, पोखरा–११ रानीपौवामा रहेको न्यु दिपज्योती अटो पार्ट्सका सञ्चालक मन्जर नासिम, दिपक वर्कसप सञ्चालक सन्दिप भगर, पोखरा–१६ लामाचौरस्थित चौधरी मोटरसाइकल वर्कसपका सञ्चालक महेन्द्र चौधरी र पोखरा– ५ मालेपाटनमा रहेको क्लासिक मोटरसाइकलका सञ्चालक विनोद विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुर्यबहादुर रानाले जानकारी दिए ।
कास्की प्रहरी र ट्राफिक प्रहरीले विगत सात महिना यता स्वरुप परिवर्तन गरिएका ६ सय ८१ मोटरसाइकल नियन्त्रणमा लिई कारवाही गरेको छ ।
स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, बाइक पड्काउँदै नागरिकलाई दुःख दिने र ध्वनी प्रदुषण गर्नेजस्ता कार्य गर्दै आएका मोटरसाइकललाई प्रहरीले कारवाही गरिरहेको छ । त्यसरी स्वरुप परिवर्तन गराउने वर्कसपलाई समेत प्रहरीले कारवाहीको दायरामा ल्याइएको हो । प्रहरीले सात महिनामा कारवाहीबाट ७ लाख ४२ हजार ७ सय रुपैयाँ जरिवाना समेत संकलन गरेको छ ।
प्रहरीले पछिल्लो समय नियन्त्रणमा लिएका अधिकांश मोटरसाइकल बुलेट रहेका छन् । प्रहरीले पहिलो पटक स्वरुप परिवर्तन गरेका मोटरसाइकललाई कारवाही गरेर अभिभावकसँग बुझाएको छ भने पटकेलाई यातायात कार्यालयमा थप कारवाहीका लागि पठाउने बताएको छ ।





