शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

निर्मला पन्तको हत्यारा पत्ता लगाउने र आफैमाथि अनुसन्धान गर्ने जिम्मामा गृहमन्त्री लामिछाने

निर्मला पन्तको हत्यारा पत्ता लगाउने र आफैमाथि अनुसन्धान गर्ने जिम्मामा गृहमन्त्री लामिछाने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २४ २०८०, बिहिबार

काठमाडौं / दोस्रो पटक गृह मन्त्रालय सम्हाल्न पुगेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्ना पार्टीका कार्यकर्ता र नेताले गल्ती गरेमा ‘कानुन पल्टाउनुस् कारबाही गर्नुहोस् मलाई सोध्नु पर्दैन, मेरो निर्देशन त्यही हो’ भने। सहकारी र मिटरव्याजीहरुले न्याय पाउनुपर्छ भन्दै ढुक्क भएर काम गर्न गृह मन्त्रालयका कर्मचारीलाई निर्देशन पनि दिए।

मन्त्रालयको कार्यभार सम्हाल्दा आफ्ना अगाडी धेरै चुनौती रहेको स्वीकार गरेका रवि लामिछानेको काँधमा अब सहकारी पीडितको समस्या सुल्झाउन र आफ्नै विरुद्ध परेको उजुरीको छानबिन गर्ने दायित्व समेत रहेको छ।

गृह मन्त्रालयबाट दोहोरो नागरिकता प्रकरणमा सांसद पदबाटै पदमुक्त भएको करिब १३ महिनापछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको हैसियतमा पुनः गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका छन्। बुधबार साँझ सचिव दिनेश भट्टराईको विफ्रङपछि संक्षिप्त निर्देशन दिँदै उनले कानुन कार्यान्वयन पहिलो प्राथमिकता भएको बताए।

उनले गृह मन्त्रालय सम्हाली रहँदा यसअघि कञ्चनपुर भिमदत्त नगरपालिकाकी निर्मला पन्तको हत्यारा पत्ता लगाउँछु भन्ने पहिलो निर्णय गरेका थिए। त्यो निर्णय कार्यान्वयन हुन र अपराधी पत्ता लगाउन अब कति समय लगाउँछन् भन्ने जिज्ञासा पनि उत्तिकै रहेको छ।

साथै पोखरा, चितवन, वीरगन्ज, भैरहवा , नेपालगन्जका ४९ हजार बचतकर्ताको ७ अर्ब ६ करोड रुपैयाँ हिनामिना गर्ने र लामिछानेका व्यापारिक साझेदार गितेन्द्रबाबु (जीबी) राई कहिले पक्राउ पर्छन् भन्ने अर्को कौतुहलता पनि उब्जेको छ। बचतकर्ताको रकम ठगी गरेर सहकारीका अध्यक्ष राई अहिले मलेसिया रहेको नेपाल प्रहरीको दाबी छ।

राई ग्यालेक्सी फोरके टेलिभिजनको सञ्चालक संस्था गोरखा मिडिया प्रालिका अध्यक्ष रहेका थिए। सोही टेलिभिजनमा हालका गृहमन्त्री लामिछाने शेयरसहित प्रबन्ध निर्देशक थिए।

साथै नेपाल प्रहरीका पूर्व डिआइजी छवि बञ्जाडे पनि उनको व्यापारिक साझेदार थिए। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना अभियोग राईविरुद्ध नेपाल प्रहरीले इन्टरपोल मार्फत डिफ्युजन नोटिस जारी गरेको छ।

इन्टरपोलले गत माघ १३ गते राई विरुद्ध नोटिस जारी गरेको हो। राइलाई खोज्न नसकेको भन्दै लामिछाने आफैले निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आरोप लगाएका थिए।आज उनै लामिछानेमाथि राई खोज्ने र बचतकर्ताको रकम फिर्ता गराउने दायित्व आइपरेको छ।

२०७९ माघ १३ गते उनी नागरिकता सम्बन्धी विवादका कारण सांसद पद समेत भएपछि उपनिर्वाचनमार्फत पुन निर्वाचित भई सांसद भएका थिए। ४८ वर्षीय लामिछानेमाथि पनि उजुरी रहेको छ। उनी आफैले दिएको निर्देशन कार्यान्वयन गर्ने जिम्मेवारी सुरक्षा निकायलाई छ। तर सुरक्षाकर्मीले रवि माथि पदमा रहँदा अनुसन्धान गर्ने सम्भावना निकै न्यून छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको सूर्यदर्शन सहकारीको मुद्दामा रवि लामिछानेविरुद्ध पनि जाहेरी परेको थियो। उक्त मुद्दामा अनुसन्धान गर्न सीआईबीको टोली पनि पोखरा पुगेर पनि फर्किसकेको छ।

‘मन्त्रीज्यूमाथि अनुसन्धान सकिएको छ, कारबाही गर्ने कि नगर्ने भन्ने बारेमा माथिकै निर्देशन आउला त्यही अनुसार हुन्छ अहिले हामी बोल्न मिल्दैन’, अनुसन्धानमा खटिएका सिआइबीका एक अधिकृतले भने।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->