पोखरा / हिन्दु सम्राट सेनाको टोलीले महिलाहरुमाथि गरेको दुर्व्यवहारप्रति ख्रिष्टियन समाज सर्लाहीले आपत्ति जनाएको छ । ख्रिष्टियन आस्थाको अभ्यासको क्रममा सम्राट सेनाको केन्द्रिय उपाध्यक्ष कृष्ण यादवको टोलीले वाटो छेकेर घेरा हाली महिलाहरुलाई दुब्र्यवहार गरेको भन्दै समाजले दुव्र्यवहार गर्नेलाई नेपाली कानुन अनुसार कारवाही गर्न भनेको छ ।
फागुन १८ गते बागमती नगरपालिका -५ का महिला दिदिवहिनीहरु दलमाया पुलामी, भगवती माया तुम्सिङ, गोमा कुमारी आले, सुमन्ता दङ्गाली मगर तथा दाजुभाईहरु लेख वहादुर पुलामी, प्रेम मिरिङचिङ मगर लगायत अमानवीय र अमर्यादित गतिविधीसहित दुव्र्यवहार गर्दै अपशब्द वोली कुटपीट र गालीगलोज गरी बाइबल खोस्ने, च्यात्ने र जलाउने गरेकोले समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
समाजका सर्लाही अध्यक्ष पां.कपिलदेव चौधरी र सचिव धनलाल थोकरले संयुक्त विज्ञप्ति प्रकाशित गरी त्यस्ता अमानीय व्यवहार गर्ने र धार्मिक आस्थाप्रतिको विश्वासमाथि गम्भीर कुठरात गर्नुका साथै इसाई समुदायको आत्मसम्मानमा ठेस पुराउने काम गरेकोले उपाध्यक्ष यादव लगायत सो कार्यमा संलग्न सवैलाई कारवाही गर्न माग गरेका छन् ।
समाजले जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई समेत ध्यानाकर्षण पत्र बुझाउदै नागरिकको धार्मिक स्वतन्त्रता र मौलिक हकमाथि प्रहार हुने गरी गरिएको त्यसप्रकारको विरोध गर्दै धार्मिक सहिष्णुतामाथि खलल पुराउने गरी कार्य गर्ने त्यस ब्यक्तिलाई कारवाही गर्न माग गरेको छ ।





