पोखरा/पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवसका अवसरमा खुइते खोला (घट्टेखोला) पुल र पोखरा भवनको शिलान्याश गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं.१९ लामाचौर माछापुच्छ्रे सडक खण्डमा पर्ने घट्टे खोलामा मोटरेवल पुल र पोखरा ९ नयाँबजारमा पर्यटन सूचना केन्द्र, पुस्तकालय, आर्ट ग्यालरी र घण्टाघर सहितको पोखरा घरको मेयर धनराज आचार्यले शिलान्याश गरेका हुन् ।
पोखरा १९ मा २ करोड ८२ लाख ९७ हजार १३१ रुपैयाँमा पुल निर्माण गर्न लागिएको हो । सिङ्गल स्पानको डवल लेन पुल निर्माणको कार्य २०८१ को कार्तिकमा सम्पन्न हुने सम्झौता भएको छ । पुलले पोखरा महानगरको माथिल्लो क्षेत्र र माछापुच्छ्रे गाउँपालिकालाई जोड्ने छ ।

यस्तै, पृथ्वीचोकमा रहेको गोलघर भत्काई त्यहाँ भवनमा व्यवस्थित सूचना केन्द्र, सुव्यवस्थित पुस्तकालय, आकर्षक आर्ट ग्यालरी र टपमा घण्टा घर रहने मेयर आचार्यले बताएका छन् । यी दुवै काम नगरपालिकाको ६४ औं र महानगरको सातौं स्थापना दिवसकै दिनमा गरेको उनले बताए ।
०८२ को घटस्थापनाका दिन उद्घाटन गर्ने गरि निर्माण सुरु भएको भवन तोकिएको समयमा सम्पन्न गर्न निर्देशन दिए । पाँच करोड एक लाख ४६ हजार ५५१ रुपैयाँ लागतमा अन्डर ग्राउन्ड पार्किङसहित भवन निर्माण हुन लागेको हो ।
कोजु इन्जिनियरिङले निर्माणको जिम्मा पाएको भवनमा अन्डर ग्राउन्ड पार्किङ, भुइँतलामा कोसेली घर र सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय सहित सभाहल, तेस्रो तलामा आर्ट ग्यालरी र सभा हल तथा सबैभन्दा माथि घण्टाघर रहने छ ।





