
पोखरा / सरकारले तीनवटा प्रदेश प्रमुखलाई पदमुक्त गरी नयाँ प्रदेश प्रमुख सिफारिस गर्ने निर्णय गरेको छ । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसंगै सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख हटाएको हो ।
नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस भएका तीनै जना एमाले निकट छन् । मन्त्रिपरिषद्को सोमबारकै बैठकले नयाँ प्रदेश प्रमुखमा गण्डकीमा डिल्लीराज भट्ट, मधेशमा सुमित्रा भण्डारी र सुदूरपश्चिममा नजिर मियाँलाई मनोनयनका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
केन्द्र र प्रदेश सरकारलाई सहज ढंगले सञ्चालन गर्न प्रदेश प्रमुखलाई हटाइएको सञ्चारमन्त्री रेखा शर्माले बताइन् । ‘कतै विश्वासको मत फिर्ता लिने, कतै मन्त्रीहरुलाई बर्खास्त गर्ने काम भइरहेको छ’, सञ्चारमन्त्री शर्माले भनिन्, ‘राजनीतिक रुपमा सहज होस्, केन्द्र र प्रदेशको राजनीतिक दृष्टिकोण समान बनोस् भनेर प्रदेश प्रमुखलाई पदमुक्त गरी नयाँ सिफारिस गर्ने निर्णय गरिएको हो ।’
प्रदेश प्रमुखलाई हटाउनुपूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार बिहान छलफल भएको थियो । दुई नेताबीच भएको छलफलपछि सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
सरकारले पदमुक्त गरेका प्रदेश प्रमुखहरू अघिल्लो गठबन्धनबाट कांग्रेसको कोटाबाट नियुक्त भएका थिए । एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको तत्कालीन नेकपा सर्वोच्च अदालतको फैसलापछि अलग भएसँगै कांग्रेसको नेतृत्वमा बनेको सरकारले उनीहरूलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।
त्यतिबेला एमालेको कोटाबाट प्रदेश प्रमुख भएकाहरुलाई हटाएर कांग्रेस, माओवादी लगायत गठबन्धन दलले भागबण्डा गरेका थिए । अहिले पदमुक्त हुनेमा कांग्रेस कोटाबाट २०७८ सालको १२ साउनमा नियुक्त भएका गण्डकीका पृथ्वीमान सिंह गुरुङ, १ भदौमा नियुक्त भएका मधेशका हरिशंकर मिश्र र २३ कात्तिकमा नियुक्त भएका सुदूरपश्चिमका देवराज जोशी छन् ।





