बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

मोतिया बिन्दुको निःशुल्क शल्यक्रियाले पर्वतका ज्येष्ठ नागरिकमा फर्कियो खुसी

मोतिया बिन्दुको निःशुल्क शल्यक्रियाले पर्वतका ज्येष्ठ नागरिकमा फर्कियो खुसी


  • संजय रेग्मी
  • चैत्र १ २०८०, बिहिबार

पर्वत/ बागलुङको बागलुङ नगरपालिकास्थित बलेवाको बिचुवा घर भएकी ज्येष्ठ नागरिक धूमकुमारी बुधवार पर्वत अस्पतालमा भेटिइन् । केही दिन अगाडिबाट दुवै आँखाले देख्न नसक्ने अवस्थामा रहेकी उनले छोटो समयमा नै आँखाको शल्यक्रिया गर्ने मौका पाइन् । अस्पतालमा राखिएको शिविरमा दुवै आँखाको शल्यक्रिया गरेपछि उनी खुसी देखिइन् ।

धूम कुमारी जस्तै अरू तीन जनाले दुवै आँखाको शल्यक्रिया गरेर फेरि संसार देख्ने मौका पाएका छन् । अरू ३१ जनाले एउटा आँखाको शल्यक्रिया गराए । आँखाको उपचारको लागि पर्वतबाट नजिक भनेको पोखरास्थित हिमालय आँखा अस्पताल हो । आर्थिक अवस्थादेखि टाढा जानुपर्ने बाध्यताका कारण पनि आँखामा समस्या भएका सबै जना पोखरा पुगिरहेका हुँदैनन् । समयमा नै आँखाको उपचार नगर्दा आँखामा सामान्यदेखि जटिल समस्या भोग्नेदेखि दृष्टि नै गुमाएकाहरू भेटिने गरेका छन ्।

यही अवस्थामा रहेकाहरूलाई केन्द्रित गरेर पर्वतमा रहेका लायन्स क्लबहरूको संयुक्त आयोजनामा भएको चार दिने शिविरमा तीन सय १५ जनाको आँखा परीक्षण भयो । पर्वत अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीका अनुसार तीनसम्म आँखा जाँच तथा मोतिया बिन्दुका बिरामीहरूको पहिचान गरेपछि मङ्गलवार र बुधवार मोतिया बिन्दुको समस्यामा रहेकाहरूको शल्यक्रिया गरिएको हो ।

लायन्स क्लब अफ शिवालय, लायन्स क्लब अफ पर्वत मोदी काली, लायन्स क्लब अफ पर्वत कुश्मा सिटी र लायन्स क्लब अफ पर्वत कालीगण्डकीको आयोजनामा राखिएको शिविरमा पर्वत अस्पताल र हिमालय आँखा अस्पताल पोखराले चिकित्सकदेखि उपकरणसम्मको संयुक्त व्यवस्थापन गरेका थिए । अस्पतालमा राखिएको शिविरबाट ३५ जनाको शल्यक्रिया गरिनु र तीन सय जनाभन्दा धेरैले आँखाको परीक्षण गराउनु खुसीको कुरा भएको अध्यक्ष गिरीले बताए ।

‘सामाजिक संघसंस्थाहरुसँग जोडिएर पर्वत अस्पतालले आफ्ना सेवाहरू अगाडि बढाउन पाउनु खुसीको कुरा हो । सरकारी अस्पतालहरूको गुमेको विश्वासलाई पुनर्स्थापित गर्नका लागि पनि हामीले सहकार्यमा विभिन्न रोगलाई लक्षित गरेर शिविरहरू राख्दै आएका छौँ’, उनले भने, ‘अस्पतालमा भौतिक सुविधा राम्रो बनेको छ । जुनसुकै प्रकारको शिविरहरू राखे पनि हामी सम्पन्न गर्न सक्छौँ । यहाँ आवश्यकता अनुसारको जनशक्ति नभएको भए पनि भएको जनशक्ति दक्ष हुनुहुन्छ। यसले पनि सरकारी स्वास्थ्य संस्थाप्रति उब्जेका शङ्काहरूको निराकरण गर्दै आएको छ ।’

शिविरमा शल्यक्रिया गरेका अधिकांश ज्येष्ठ नागरिकहरूले आफ्नै ठाउँमा राखिएको शिविरबाट आँखा देख्ने बन्न पाउँदा खुसी लागेको बताए । आँखामा सामान्य समस्या देखिँदा उपचारकै लागि भनेर पोखरासम्म नगएको अवस्थामा शिविर राख्दा आफूहरूले फेरि संसार नियाल्न पाएको भन्दै उनीहरूले खुसी साँट्दै थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->