बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पानी अभावले बसाइसराइ बढेको जलजलाको लुप्राङ गाउँमा अब २४ सै घण्टा पानी

पानी अभावले बसाइसराइ बढेको जलजलाको लुप्राङ गाउँमा अब २४ सै घण्टा पानी


  • ढोरपाटन संवाददाता
  • चैत्र २० २०८०, मंगलबार

पर्वत/ ‘यो जमानामा आएर पनि यस्ता कुरा गर्दा कतिलाई विश्वास नलाग्ने हो फेरि । एक गाग्री पानीका लागि राती र दिउसोको बाह्र/एक बजेसम्म कुवाको छेउमा लाइन लागेर बस्नुपर्छ। गाउँभरका सबैले घण्टा घण्टाका दरले बाँड्दा आफ्नो भागमा परेको समयमा कुवाको पानी लगेर तिर्खा मेटिएको छ ।’

यो दुखेसो पोख्ने व्यक्ति जिल्लाको जलजला गाउँपालिका–८ नाग्लीवाङस्थित लुप्राङका हरिनारायण रेग्मी । रेग्मीले पानीको समस्याका बारेमा शब्दमा बताउँदा सबै दृश्य चित्र दिमागमा आउँदैन । तर एक गाग्री पानीकै लागि अहिलेको आधुनिक समयमा पनि व्यक्तिहरू कुवामा घण्टौँको लाइनमा बस्नु अनि बर्खाको बेलामा वर्षाकै पानी पिएर दैनिकी गुजार्ने यिनै लुप्राङबासीहरु हुन् ।

बर्खामा बेलामा आकाशको पानीले काम चलाउने गरेको भए पनि जब हिउँद लाग्छ अनि पानीको चिन्ताले सताउँछ । घरमा युवाहरू भएकाहरूले त त्यही पालोको पानी ओसार्न सक्थे । तर वैदेशिक रोजगारी र बसाईसराईँले ज्येष्ठ नागरिक मात्रै भएका घरमा त त्यही कुवाको पानी ओसार्न सक्ने अवस्था पनि थिएन ।

घरमा अलि युवा उमेरका व्यक्ति भए त त्यही कुवाको पानी पनि घरसम्म बोकेर लैजान्छन् । तर वैदेशिक रोजगारी होस वा आन्तरिक बसाईसराईँले लुप्राङका ज्येष्ठ नागरिकलाई कुवाको पानी ‘लङ्कामा सुन छ कान मेरो बुच्चै’ भने जस्तै छ । नाग्लीवाङका वडाध्यक्ष हरि विकास जि.सी.ले वर्षौँदेखि रहेको समस्या समाधानको लागि विगतदेखि नै प्रयास गरेको भए पनि सफल नभएको बताए ।

तर अब भने लुप्राङ गाउँका बासिन्दाले भोगेको पानीको समस्या समाधान हुने भएको छ । बस्तीबाट करिब चार किलोमिटर टाढा रहेको जलजला गाउँपालिका–९ बनौँमा रहेको लस्ती खोलाबाट पाइप बिछ्याएर ल्याइएको पानी लुप्राङ गाउँमा झरेको छ । गाउँमा झरेको पानीलाई एक लाख लिटर क्षमताका ‘रिर्जभेयर ट्याङ्की’ मा खसालेर टोल टोलमा वितरण गर्ने योजना छ । करोड बढी लगानीमा पूरा हुने योजना सकिएपछि लुप्राङबासीले पानीको सन्दर्भमा नयाँ जुनी नै फेरेको जस्तो हुने वडाध्यक्ष जि.सी बताउँछन् ।

‘त्यहाँको पानीको समस्या वर्षौँदेखिको हो। त्यहाँका बासिन्दा अहिलेसम्म पनि कुवाको पानीमा भर पर्दै आउनुभएको छ । गाउँको सबैभन्दा ठुलो पिर नै पानी थियो, त्यही पानी गाउँमा आएपछि लुप्राङबासीले पानीको विषयमा नयाँ जुनी नै फेरेको जस्तो महसुस भएको छ’, उनले भने, ‘अघिल्लो कार्यकालमा म नै वडाध्यक्ष भएकोले त्यो बेलामा बोरिङबाट पानी निकाल्न सकिन्छ की भनेर जलजलाको अप्ठ्यारो बाटोमा बोरिङ गर्ने १० चक्के गाडीलाई पछाडिबाट डोजरले पेल्दै पेल्दै लगेर डिप बोरिङ गर्दा पनि पानी भेटिएन । दुई वटा मेसिनले करिब चार सय मिटर तलसम्म खन्दा पनि पानी नभेटिएपछि लुप्राङमा पानीको आसा मरेको थियो । यसको विकल्प बनौँको लस्ती खोलाको पानी बाहेक अरू केही थिएन ।’

वडाध्यक्ष जि.सी.का अनुसार पानीको समस्याका कारण गाउँ रित्तिँदै जाँदा अर्को चिन्ता थपिएको थियो। अहिलेको आधुनिक जमानामा एक गाग्री पानी समेत नपाउने भएपछि गाउँ छोडेकाहरूप्रति पनि गुनासो गर्ने ठाउँ नभएको उनको भनाइ छ । केही बर्षअगाडिसम्म लुप्राङ गाउँमा करिब एक सय ३० घर रहेको भए पनि तीमध्येका करिब ४० परिवार बसाई सरेको वडाध्यक्ष जि.सी बताउँछन् ।

विगतमा पनि लस्ती खोलाको पानी लुप्राङमा ल्याउन प्रयास नभएको भने होइन । तर एउटा वडामा रहेको स्रोतलाई अर्को वडामा लगेर प्रयोग गर्ने कुरामा राजनीतिक दलका प्रतिनिधिहरू नै सहमत नहुँदा समस्या भएको थियो । यही विषयले गाउँपालिकाका बैठकमा समेत झगडा हुने गरेको जि.सीको भनाई छ ।

तर यस पटक भने पानीको तिर्खा सबैको लागि एकै हुने मुख्य कुरामा केन्द्रित भएर गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्य, जिल्ला समन्वय समितिका उपप्रमुख सोम जि.सी, जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य, नाग्लीवाङका वडाध्यक्ष हरि विकास जि.सी, बनौँका वडाध्यक्ष गौ बहादुर पुर्जा, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुबीच भएको संयुक्त छलफलले विवादको टुङ्गो लगाएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->