बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

विद्युत पर्खिरहेका कोल्डस्टोर

विद्युत पर्खिरहेका कोल्डस्टोर

जैमिनी नगरपालिका वडा नं. ४ को सर्कुवामा रहेको ५० मेट्रिकटन क्षमताको सोलार भण्डार केन्द्र जीर्ण छ ।


  • ढोरपाटन संवाददाता
  • बैशाख ६ २०८१, बिहिबार

बागलुङ/कोल्डस्टोर चलाउन विद्युत आवस्यक पर्छ । तर बनिसकेका स्टोरमा विद्युत अभाव भएको छ । विद्युत अभावले ती स्टोरहरु संचालनमा आउन सकेका छैनन् ।
निसीखोला गाउँपालिका–२ को देविस्थान बहुउद्देश्यीय सहकारी संस्थामा १० मेट्रिकटन क्षमताको २ वटा च्याम्बर रहेको कोल्डस्टोर बनाइएको छ । गतबर्षको बजेटमा कृषि विकास निर्देशनालय पोखराको ११ लाख ७८ हजार लगानी परेपनि विद्युत अभावले यो संचालनमा नआएको हो । हाल बुर्तिवाङ बजारमा पुगेको विद्युत बिस्तार हुनेमा किसान आशावादी रहेको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुनले बताए ।
हालै निर्माणाधिन तमानखोलाको १ सय ३० मेट्रिकटन क्षमताको कोल्डस्टोर पनि संचालनमा आउन सकेको छैन । गत आर्थिक बर्ष प्रदेश सरकारको ५० लाख, संघिय सरकारको समपुरक बजेटमा ४५ लाख र गाउँपालिकाको १५ लाख गरी १ करोड ५ लाख खर्च भएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । ‘बिजुली नपुग्दा प्रयोगमा ल्याउन सकिएको छैन’ बुढाले भने, ‘एकवर्ष अघि बनेको घर त्यसै छ, अहिले पालिकाले बिद्युतीकरणको तयारी गर्दैछौं ।’
नेपाल विद्युत प्राधिकरण बागलुङ बितरण शाखाले उक्त स्थानमा विद्युत लैजाने तयारी गरिरहेको छ । आलु प्रसस्त उत्पादन हुने भएकोले उक्त ठाउँ रोजेका किसान विद्युत नपुग्दा प्रयोग गर्न नपाउने चिन्तामा छन् । तमानखोलाभर राष्ट्रिय प्रसारणको विद्युत थिएन । हाल विद्युतीकरण गर्ने योजना छ । तर यो स्टोर बनेको स्थान पालिका केन्द्रदेखि पनि २० किमी उत्तरपूर्वमा पर्छ ।
ढोरपाटन नगरपालिका–९ को पाटनमा परम्परागत घरमा आलु भण्डारन गरिन्छ । त्यहाँभन्दा वैज्ञानिक तरिकाले भण्डारन गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले रुद्रताल कृषि समूहले प्रयोग गर्ने गरी नयाँ भण्डारन बनाएको छ । चालु वर्षभित्र निर्माण सकेर आगामी असार साउनमा बीउ आलु भण्डार गर्ने लक्ष रहेको स्थानीय भद्रमणी बिकले बताए ।
१० लाख परियोजनाले दिंदा स्थानीयले ढुंगा र काठ बोक्ने काममा श्रमदान गरेर १५ लाख लागतमा भवन बन्न लागेको हो । उक्त भवनमा स्थानीयले बीउको लागि १५ मेट्रिकटन आलु भण्डारन गर्ने योजना सुनाए । यो भण्डारनपछि ढोरपाटन क्षेत्रमा चाहिने बीउ सुरक्षित बनाउन सकिन्छ । खाने आलुका लागि भने यति सानो स्टोरले पुग्दैन । त्यसैले किसानले घरैमा राखेर मौका पर्दा बजार पठाउने गरेका छन् ।
ढोरपाटन आलुको लागि उर्वर भूमी हो । ढोरपाटनको ३ हजार ५० हेक्टरमा गरिएको आलुखेतीबाट गतबर्ष ५४ हजार ८ सय १० मेट्रिकटन उत्पादन भएको थियो । यो क्षेत्रमा आलु उत्पादन बढाएर किसानलाई व्यवसायिक बनाउने लक्ष राखिएको छ । तर भण्डारन गृह छैनन् । चिसो मौषम भएकोले घरघरमा राखेर किसानले बजार पठाउने गर्छन् । ढोरपाटन क्षेत्रमा वृहत प्रकारको भण्डारन आवस्यक भएपनि बनाउन नसकिएको कावा प्रमुख धनबहादुर कायतले बताए ।
ताराखोलाको वडा नं. ४ को करिमेलामा परियोजनाले १० मेट्रिकटन क्षमताको बीउ भण्डारन बनाएको छ । परियोजनाको २१ लाख र स्थानीयको ४ लाख गरी २५ लाखमा भवन बनेर संचालनमा आएको हो । जैमिनी नगरपालिका वडा नंं ४ को सर्कुवामा रहेको ५० मेट्रिकटन क्षमताको सोलार भण्डार केन्द्र जीर्ण छ । तत्कालिन कृषि विकास कार्यालयले बनाएपनि प्रयोगमा नआएको नगर कृषि शाखाका प्राविधिक सहायक मनोज रानाले बताए ।
बागलुङ नगरपालिका–८ को गणेश व्यवसायिक कृषि सहकारी संस्थामा २० मेट्रिकटन क्षमताको कोल्ट रुम बनाइएको छ । गलकोट नगरपालिका–३ मा सिद्दभैरव २ करोड निजी लगानीमा तीनबर्षदेखि १ सय मेट्रिकटन क्षमतको स्टोर बनाएर संचालनमा ल्याएको छ । त्यस बाहेक प्रदेश सरकारको साझेदारीमा काठेखोला–३ को धम्जामा २०७५ सालमा ५० मेट्रिकटन क्षमताको भण्डारन केन्द्र बनेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->