पर्वत/सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयले शुक्रवार सञ्चालन गरेको प्रवेश परीक्षामा एक सय जना भन्दा धेरै विद्यार्थीहरू सहभागी भए। कक्षा ६, ७, ८ र ९ मा भर्ना हुनका लागि पहिलो चरणमा फाराम भएकाहरूमध्ये एक सय बढीले परीक्षा दिए । विद्यालयमा भर्ना गर्नका लागि अभिभावकहरूको दबाब आउँदा क्षमता भन्दा बढी विद्यार्थी राख्ने गरी वैशाख १४ मा दोस्रो चरणमा प्रवेश परीक्षा सञ्चालन गर्न लागेको विद्यालयले बताएको छ ।
जिल्लामा नै सबैभन्दा धेरै करिब एक हजार तीन सय जना विद्यार्थी अध्ययनरत विद्यालयमा वर्षेनी भर्ना हुन आउनेमध्ये अधिकांश बालबालिकाहरू निजी विद्यालयबाट आउनेहरू रहेका विद्यालयका प्रधानाध्यापक प्रकाश रिजालले बताए । यो वर्ष एक सय ५५ जना विद्यार्थीले एसइई परीक्षा दिएकोमा त्यो भन्दा धेरै सङ्ख्याका विद्यार्थीहरू भर्ना गर्नुपर्ने अवस्था रहेको उनको भनाई छ ।
‘एउटा कक्षालाई तीन सेक्सनमा विभाजन गरेर कक्षा चलाएका छौँ । एउटै सेक्सनमा ५० जना भन्दा बढी विद्यार्थी राखेर चलाएका छौँ । विद्यार्थी जति आए पनि विद्यालयमा उही सामान्य विद्यालयको जस्तै दरबन्दी हुँदा हामी विद्यार्थीको भिड थाम्नै नसक्ने अवस्थामा छौँ’, उनले भने, ‘हामीले अङ्ग्रेजी र नेपाली दुवै माध्यममा कक्षा सञ्चालन गरिरहेका छौँ । सिकाई उपलब्धि दर पनि बढी भएकाले जिल्लाका विभिन्न ठाउँका सामुदायिक र निजी विद्यालयका विद्यार्थीको भीड लाग्ने गरेको छ ।’
विद्यालयले सञ्चालन गरेको प्रवेश परीक्षाको अनुगमनमा पुगेका कुश्मा नगरपालिकाको शिक्षा शाखाका अधिकृत दीपक सुवेदीले विद्यालयमा विद्यार्थीको अति उच्च चाप हुँदा पनि आवश्यकता अनुसारको दरबन्दी नहुनु दुःखद भएको बताए । माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको भए पनि दरबन्दी थप्न पाउने व्यवस्था आफूहरूसँग नभएको उनको भनाई छ ।
नगरपालिकामा रहेका अन्य माध्यमिक तहमा माध्यमिक र निम्न माध्यमिक तहका दरबन्दी जति छन् नारायण माध्यमिक विद्यालयमा सोही दरमा तेब्बर बढी हुनुपर्ने भए पनि अन्यत्र बराबरकै दरबन्दीले कक्षा सञ्चालन गर्दा विद्यालय र शिक्षक दुवै समस्यामा रहेको सुवेदीको भनाई छ । ‘यहाँको चाप हाम्रै आँखाले प्रत्यक्ष देखेका छौँ । तर दरबन्दी थप्ने अधिकार हामीसँग नहुँदा चाहेर पनि शिक्षक दिन सकिएको छैन’, उनले भने, ‘यहाँका शिक्षकले बरु लिजर पिरियड नै नराखेर भए पनि कक्षा चलाउनुभएको अवस्था छ । यही मिहिनेतले नै विद्यालय नगरपालिकाको गहना बनेको छ ।’
सदरमुकाममै रहेको शिवालय माध्यमिक विद्यालयले पनि प्रवेश परीक्षा सञ्चालन गरेर विद्यार्थी भर्ना गरेको छ । गत बिहीबार पहिलो चरणमा प्रवेश परीक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चापागाईँले बताए ।
सदरमुकाम कुश्मा बजारमा माध्यमिक तहसम्मको कक्षा सञ्चालन भएका सामुदायिक विद्यालय यिनै दुई ओटा मात्रै हुन् । यी दुई विद्यालयको वरपर माध्यमिक तहसम्म नै कक्षा सञ्चालन गरिरहेका ६ ओटा निजी विद्यालयहरू छन् । निजी विद्यालयहरू आफ्ना विद्यालयमा अध्ययनरत विद्यार्थीहरू सामुदायिकमा नजाउन् भन्ने रणनीतिमा हुने नै भए । तर सामुदायिक विद्यालयहरूले आधारभूत तह (कक्षा १–५) सम्म सञ्चालित ‘फिडर’ विद्यालयबाट आउने केही र निजी विद्यालयबाट आउने अधिकांश विद्यार्थीहरूलाई नै भर्ना गर्दै आइरहेका छन् । नारायण मा.वि.का प्रधानाध्यापक रिजालले आफ्नो विद्यालयमा वर्षेनी भर्ना हुन आउने विद्यार्थीहरूमध्ये करिब ७० प्रतिशत निजी विद्यालयबाट नै आउने गरेका बताए ।





