पाेखरा/ स्कुटरलाई ठक्कर दिएर घाईते बनाई फरार भएका एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा स्याङजाको बिरुवा गाउँपालिका–७ घर भई हाल पोखरा–१७ बस्ने २१ वर्षीय कुशल गुरुङ रहेका छन ।
कास्की प्रहरीका अनुसार यही बैशाख ६ गते दिउँसो १ बजेर ३५ मिनेटको समयमा पोखराको लेकसाइडबाट शान्तिपाटन हुदै शहिदचोक तर्फ जाँदै गरेको गुरुङले हाँकेको ग १२ प ३३९७ नम्बरको स्कुटरले सोही दिशातर्फ जाँदै गरेको ग १३ प ४०९ नम्बरको स्कुटरलाई ठक्कर दिई स्कुटरको पछाडी सवार पोखरा–२७ बस्ने बर्ष २६ कि गायत्री थापालाई घाइते बनाएको थियो । घाईते थापालाई उपचारको लागि अस्पताल लैजानु पर्नेमा नलगी बाटोमै गाली गलौज गरी छाडी गएकोमा बैशाख १३ गते सूचना प्राप्त भए पश्चात वडा प्रहरी कार्यालय बैदाम र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले कुशल गुरुङलाई उक्त स्कुटर सहित पक्राउ गरी वडा प्रहरी कार्यालय बैदामबाट अभद्र व्यवहार सम्बन्धी मुद्दामा थप अनुसन्धान प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।





