पोखरा/कास्की प्रहरीले वनजंगलमा आगजनी गर्ने गराउनेलाई कानुन बमोजिम कारवाही गर्ने जनाएको छ । प्रहरीले एक सूचना जारी गर्दै कोही कसैले वनजंगलमा आगो लगाएको वा अन्य कुनै क्षति पुग्ने काम गरेको वा गर्न लागेको देखेमा प्रहरीलाई जानकारी दिन भनेको हो ।
चालु आर्थिक वर्षको हालसम्मको अवधिमा कास्कीका वनजंगलमा १२७ वटना आगजनीको घटना भएको प्रहरीले जनाएको छ । वनजंगलमा भएको आगजनीका कारण वनस्पति, वन्यजन्तु, जैविक विविधता र वातावरणीय पर्यावरणमा अपुरणीय क्षती हुन गइ कास्की जिल्लाको जनजीवननै प्रभावित हुने पुगेको सूचनामा छ । कतिपय आगजनीका घटनामा व्यक्तिविशेषको संलग्नता रहेको भन्दै प्रहरीले विशेष प्रहरी टोली परिचालन गरिएको समेत जनाएको छ ।
वनजंगलमा आगजनी गर्नेलाई वन ऐन २०७६ को दफा ४९ अन्तर्गतको कसुरमा दफा ५० बमोजिम क्षति भएको विगो असुल गरी ३ वर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरीवाना वा दुवै सजाय हुने व्यवस्था छ । साथै मुलुकी अपराध संहिता २०७४ को दफा २८५ मा वनजंगलमा आगजनी गराई क्षति पुराउनेलाई ४ वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरीवाना हुने कानुनी व्यवस्था रहेको छ ।





