पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले हरेक मानिसले श्रममा विश्वास गर्नुपर्ने र श्रमको सम्मान नगर्नेहरू असभ्य नागरिक भएको बताएका छन । १३५ औं श्रमिक दिवसको अवसरमा पोखरामा बुधवार आयोजित श्रमिक सभामा बोल्दै मुख्यमन्त्री अधिकारीले यस्तो बताएका हुन ।
‘श्रम हामीहरूको लागि अत्यन्त मूल्यवान् विषय हो, श्रमबाटनै राष्ट्रिय पुँजी निर्माण हुन्छ, रगत र पसिनाको गन्ध जुन माटोमा बग्छ, त्यो माटो सुगन्धित हुन्छ, त्यहीं माटोको सम्मान गर्न मे दिवसले प्रेरणा दिनेछ’ उनले भने । नेपालमा अधिकार प्राप्तिको आन्दोलन सकिएर श्रमिक वर्गको हकहितको लागि ऐन कानुन निर्माण भएपनि पूर्ण कार्यान्वयन भइनसकेको उनको भनाई थियो । यसको कार्यान्वयनको लागि रोजगारदाता र श्रमिक दुवैले आफ्नो कर्तव्य र दायित्व बुझ्न सक्नुपर्ने उनले बताए । मुख्यमन्त्री अधिकारीले प्रदेशको सामाजिक विकास मन्त्रालयमा निष्कृय जस्तो देखिएको समन्वय केन्द्रलाई सक्रिय बनाउँदै श्रमिकको हितको लागि कार्यगर्ने प्रतिवद्धता जनाए ।

गण्डकी प्रदेश सरकार समृद्ध प्रदेश खुशी प्रदेशवासी बनाउने प्रष्ट धारणाकासाथ अगाडि बढिरहेको भन्दै उनले उद्योग फस्टाए रोजगारी प्राप्त हुने र स्वाधीन अर्थतन्त्रमा टेवा पुग्ने बताए । ‘जबसम्म उद्योग फस्टाउन सक्दैन तबसम्म रोजगारी प्राप्त हुन सक्दैन । देशको स्वाधीन अर्थतन्त्र निर्माण हुन सक्दैन’ उनले भने ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकी प्रदेश पोखराले आयोजना गरेको सभामा नेपाली कांग्रेस गण्डकी प्रदेश अध्यक्ष शुक्रराज शर्मा, नेकपा एमाले गण्डकी प्रदेश सचिव धनञ्जय दवाडी, माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, नेपाल ट्रेड युनियन कांग्रेस उपाध्यक्ष राधिका कुइँकेल, अखिल नेपाल ट्रेड युनियन महासंघ उपाध्यक्ष सोमबहादुर थापा, नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी अध्यक्ष मुरारी शर्मा, जिफन्ट गण्डकी अध्यक्ष रुद्र खत्री र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकीका सदस्य रुद्र गौतमलगायतले ट्रेड युनियन अधिकार र श्रमिक दिवसको महत्वबारे बोलेका थिए । श्रमिक सभा अगाडि गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी समेतको सहभागीतामा पोखराको पृथ्वीचोकदेखि साइमन पार्टी प्यालेस सिर्जनाचोकसम्म श्रमिक ¥यालीको आयोजना गरिएको थियो ।





