सशस्त्र प्रहरीद्वारा सांग्रिला बिजुली सप्लायर्स् तथा लाकुरीडाँडाको आगलागी नियन्त्रण
पोखरा
पोखरा महानगरपालिका वडा नं. १० अमरसिंहचोक शान्तिपथमा रहेको ध्रुव मरासिनीको सांग्रिला सप्लायर्स बिजुली सामानको गोदाममा गएराती साढे १० बजे आगलागी भएको छ । आगलागीको खबर स्थानीयबाट प्राप्त हुनसाथ सशस्त्र प्रहरी बल कालिका गणको बिशेष उद्धार टोली लगायत पोखरामहानगरको २ वटा दमकलका साथै नेपाल प्रहरी तथा स्थानीयको सहभागीतामा करिव ४५ मिनेटको फायर फाईटिङ अप्रेशन पश्चात् उक्त आगलागी पूर्णरूपमा नियन्त्रणमा आएको कालिका गणका गणपति एसपी अरुण पौडेल शर्माले बताए। पोखरा, १४ कदममार्ग निवासी ध्रुव मरासिनीले संचालन गरेको उक्त बिजुली सप्लायर्समा एक करोड भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ ।

यसैगरी राति ११ बजे पोखरा, ३१ बेगनासस्थित लाकुरीडाँडा जंगलमा भिषण आगलागी भई ९ वटा घरहरु अत्यन्तै जोखिममा रहेको खवर प्राप्त हुनासाथ कालिका गणको विशेष विपद उद्धार फौज परिचालन भई फायरलेन बनाई उक्त घरहरुलाई पूर्णरूपमा सुरक्षित बनाई बिहान ३ बजे सशस्त्र प्रहरीको उद्धारकहरु कालिका गण फिर्ता भएको जानकारी समेत एसपी शर्माले दिए।





