पोखरा/ पोखराका राजु आचार्य बेलायतमा सम्मानित भएका छन । बेलायतको परोपकारी संस्था द ह्वाइटली फण्ड फर नेचर (डब्लुएफएन) ले आचार्यलाई ह्वाइटली अवार्ड २०२४ बाट सम्मानित गरेको हो । लण्डनमा बुधबार आयोजित कार्यक्रममा बेलायती राजकुमारीले उनलाई यो अवार्ड दिइन ।
उनीसहित विश्वभरिका ६ जना अनुसन्धान र संरक्षणकर्मीलाई दिएको यो सम्मानको रकम ५० हजार पाउण्ड रहेको छ । अनुसन्धान र संरक्षण क्षेत्रमा विगतमा पुर्याएको योगदान र आगामी योजनाको लागि यो सम्मान दिइएको हो । सम्मानित भएपछि आचार्यले यो पुरस्कार ग्रहण गर्दा जीवनको सबैभन्दा खुसीको बेला रहेको बताएका छन् । उनले भनेका छन्, ‘तपाईंहरुको सक्रिय भूमिका तथा सहयोगको कारणले यो सम्भव भएको हो, सबैलाई मुरीमुरी धन्यवाद् । पुरस्कार रकम गण्डकी प्रदेशमा नेपाल सरकारले बनाएको ‘लाटोकोसेरो संरक्षण कार्ययोजना’मा उल्लेख गरिएका संरक्षणको काममा प्रयोग हुनेछ । पुरस्कार प्राप्त गर्न सहयोग गर्नुहुने विकाश घिमिरे, सुमन सापकोटा, प्रेमराज न्यौपाने, यादव घिमिरे, सोम जिसी तथा विश्वाश गरेर सिफारिस गर्ने डा. हेमसागर बराल, डा.घनश्याम गुरुङ तथा कार्ला ब्लोयमलाइ मुरीमुरी धन्यवाद् ।’
लाटोकोसेरो संरक्षण प्रयासमा बेवास्ता गरिएको पंक्षी हो। तर पारिस्थितिक सन्तुलन कायम राख्न यो चराको विशेष भूमिका हुन्छ र समाज र संस्कृतिसँग पनि जोडिएको हुन्छ । फ्रेन्ड्स अफ नेचरका संस्थापक र कार्यकारी निर्देशक रआचार्यले शिकार, अवैध व्यापार, र बासस्थानको क्षतिबाट लाटोकोसेरोको खतरालाई सम्बोधन गर्ने लाटोकोसेरो संरक्षण कार्ययोजना २०२० मा चलाउन महत्वपूर्ण भूमिका खेलेको संस्थाले जनाएको छ। अवार्ड कार्यक्रमलाई युट्युबमा पनि प्रत्यक्ष प्रसारण गरिएको थियो ।
राजुको परियोजनाले सयवटा संरक्षण शिविर बनाएर विद्यार्थी र जनतामा चेतना जगाउने लक्ष्य राखेको छ। धेरै पुराना रुख भएका क्षेत्रमा चराको बाहुल्यता उल्लेख्य रूपमा बढेको छ र राजुको टोलीले ५ सय पुराना रुखको संरक्षण र अर्धशहरी क्षेत्रमा सयवटा कृत्रिम गुँड जडान गरेर १२ सय हेक्टरको लाटोकोसेरो बासस्थानको पुनर्स्थापना गर्ने पनि लक्ष्य राखेको छ।
नेपालमा लाटोकोसेरो अनुसन्धानको अग्रपंक्तिमा रहेको र लाटोकोसेरोहरुको दुर्दशामा ध्यानाकर्षण गर्ने प्रयासका लागि स्थानीय रूपमा ‘उल्लु सर’ भनेर चिनिने आचार्यले प्रारम्भिक क्यारियर वैज्ञानिकलाई आफ्नो मिशनमा सामेल गराउने आशा राख्छन्। हाप्सिलो नामक डिजिटल उल्लू न्यूजलेटरका सम्पादक राजुले ११ वर्षअघि नेपाल लाटोकोसेरो महोत्सव थालेका थिए। बाघ र हिउँ चितुवाको तुलनामा उल्लुहरू कम प्राथमिकतामा परेको अवस्थामा महोत्सवले यस क्षेत्रमा इको पर्यटनलाई बढावा दिएको र देशको सबैभन्दा ठूलो संरक्षण घटनाहरू मध्ये एक मानिन्छ ।





