पोखरा/पोखरा महानगरपालिका वडा नं. २४ पामेबजारको चालिसे बडहरेस्थित कालिका माध्यमिक विद्यालयको जग्गामा लामो समयदेखि अनधिकृत रूपमा बसोबास गर्दै आएका प्रेमबहादुर नेपाली र नारायणबहादुर परियारको अस्थायी टहरा महानगरिय प्रहरी बलले आइतबार हटाएको छ ।
मादी गाउँपालिका वडा नं. २ का स्थायी बासिन्दा नेपाली र कास्कीकोट बस्ने परियारले २०८० कात्तिक १२ गते ४ महिनामा विद्यालयको जग्गा खाली गर्ने शर्तनामा गरेका थिए । सोही सर्तनामा बमोजिम उनीहरूलाई विद्यालयको जग्गा खालि गर्न पटक पटक आग्रह गरेको भए पनि अटेर गरी बसेपछि महानगरले हटाउनु परेको हो ।
कालिका माविको कित्ता नम्बर १८५४ मा अस्थायी टहरा निर्माण गरेको पाइएपछि उनीहरूलाई त्यहाँबाट हटाई पाउँ भनी विद्यालयले दिएको निवेदनका आधारमा आइतबार हटाइएको महानगरिय प्रहरी बलका प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम थापाले बताए ।
यसैबिच पामे–चालिसे बडहरे–सिसौउडी–रत्नेटार हुँदै राउसेओडार कनेक्टिभिटी रोडको पामेचोकमा सडकको मापदण्ड विपरीत निर्माण गरिएको संरचना समेत हटाइएको छ । प्रहरी प्रमुख थापाका अनुसार पामेचोकस्थित पामे बचत तथा ऋण सहकारी संस्था रहेको भवन र रामकुमारी सुवेदीको अतिक्रमित संरचना हटाइएको छ । सडकको केन्द्र भागबाट ७ मिटरको मापदण्ड नछोडी संरचना निर्माण गर्दा सडकको मापदण्ड नपुगेका कारण सुवेदी र कृष्णप्रसाद तिमिल्सीनाको संरचना हटाइएको हो ।





