शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

फेवातालमा जलकुम्भी सफाइ अभियान सुरु

फेवातालमा जलकुम्भी सफाइ अभियान सुरु


  • ढोरपाटन संवाददाता
  • बैशाख ३१ २०८१, सोमबार

 

पोखरा / वर्खाको समयमा फेवाताल जलकुम्भीले ढाकिन्छ । जलकुम्भीकै कारण ताल कुरुप देखिन्छ । पोखराको गहना फेवताललाई जलकुम्भीबाट कुरुप हुन नदिन वातावरण संरक्षणका लागि महाअभियान कास्कीले जलकुम्भी निकाल्ने अभियान सुरु गरेको छ । अभियानले तालमा फैलने जलकुम्भी हटाउन तालको पानीको स्रोतबाटै जलकुम्भी हटाउन सुरु गरेको हो ।

आइतबारदेखि सुरु भएको अभियान दुई हप्तासम्म चल्ने नागरिक अभियान्ता रामबहादुर पौडेलले जानकारी दिए । वर्षेनी जलकुम्भीले ढाकेर फेवाताल कुरुप बन्नेहुँदा यसवर्षबाट त्यस्तो हुन नदिन स्रोतबाट नै जलकुम्भी हटाउने अभियान सुरु गरिएको उनले बताए । उनका अनुसार आइतबार नेपाली सेना, सशस्त्र प्रहरी, सफाइ अभियान्ता र स्थानीय समेत गरेर सात सयभन्दा बढीको सफाई अभियानमा सहभागिता थियो ।

अभियानको पहिलो दिन १५ टिप्पर जलकुम्भी हटाइएको छ । ‘वर्षा याममा जलकुम्भीले ढाकेर फेवाताल कुरुप बनाउने गरेको छ । त्यसरी अगामी दिनमा ताल कुरुप नहोस् भनेर स्रोतबाटै जलकुम्भी हटाउने अभियान थालेका हौं’ उनले भने ।

जलकुम्भी झार स्रोतमै नियन्त्रण गर्ने अभियानको सशस्त्र प्रहरी गण मालेपाटन ९कालिका गण० का प्रमुख, प्रहरी उपरीक्षक अरुण शर्माले शुभारम्भ गरेका हुन् । सुभारम्भ गर्दै ताल तलैया लगायत प्राकृतिक स्रोत, सम्पदा र सम्पत्तिको संरक्षण गर्नु सबैको साझा दायित्व रहेको उनले बताए ।

सशस्त्र प्रहरीको यस्ता अभियानमा सधै साथ रहने उनले प्रतिवद्धता जनाए । डेढ घण्टा चलेको पहिलो दिनको अभियानको समापन पोखरा महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले गरेका हुन् । उनले सबैको हातेमालोले मात्र संरक्षण र विकासका अभियान पूरा हुने धारणा राखे ।

सफाई अभियान शुभारम्भ कार्यक्रममा हाल पोखरा स्थित भगवती दल फूलबारीबाट श्रीकृष्ण दल सुनसरी सरुवा भएका सेना र त्यहाँबाट भगवती दल फूलबारी आएका करिव ३०० सेनाको सहभागिता थियो । त्यसैगरी सशस्त्र प्रहरी गण मालेपाटनबा २०० जना र नागरिक अभियान्तहरु समेत गरेर ७०० भन्दा धेरै सहभागी थिए ।

अभियान्ता पौडेलका अनुसार भोलिबाट हरेक दिन बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म ४० जनाका दरले स्थानीय जलारी समुदाय निरन्तर जलकुम्भी सफाइमा जुट्ने छन् ।

पोखरा महानगरपालिकाको सहयोगमा एक जलारी घर एक रोजगारी कार्यक्रम अन्तर्गत यो अभियान सञ्चालन गरिएको हो । दुई हप्ता विहान ८ देखि दिउँसो ३ बजेसम्म दैनिक ४० जनाले सफाई गर्नेछन् ।

फेवाताल जस्तै बेगनास ताल र अरु तालहरुमा पनि यो अभियान क्रमस चलाईने अभियान्ता पौडेलले बताएका छन् । ‘फेवातालमा सुरु गरेका छौं । यो अभियान बेगनाससहित अन्य तालहरुमा पनि निरन्तर चलाउँछौं । स्रोतबाट नै जलकुम्भी हटाउन सके तालमा फैलन पाउँदैन र समस्या जटिल हुँदैन’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->