बागलुङ / ढकमक्क फुलेको गुलमोहर फुलले यतिबेला बागलुङ नगरपालिका वडा नं. १ बाङेचौरस्थित शहिद स्मृति पार्क र मदन–आश्रित स्मृति पार्कमा आर्कषण थपेको छ । रामरेखास्थित डिभिजन वन कार्यालयदेखि पार्क क्षेत्रमा फुलेको गुलमोहरले जो–कोहीलाई टक्क अडिन बाध्य बनाउँछ । लामो खडेरीपछि लगातारको वर्षाले हराभरा बनेको पार्कलाई गुलमोहरले थप मनमोहक बनाएको छ । गुलमोहरले ‘गुल्जार’ बनेको पार्कमा सेल्फी लिने र फोटो खिच्नेहरुको ताँती लाग्न थालेको छ ।
त्यसो त एशियाकै लामो झोलुङ्गे पुल ‘कालीगण्डकी गोल्डेन ब्रिज’ बनेपछि पार्कमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दो छ । मर्निङदेखि इभिनिङ वाक गर्नेहरु पुलहुँदै भगवान पार्वतीको जन्मभुमि मानिने पर्वतको पाङ पुगि फर्किन्छन् । कोही स्वच्छ र शान्त पार्कमा सुस्ताउँछन् । कोही ध्यान र योगामा मग्न भेटिन्छन् । शहरी कोलाहलबाट मुक्त हुन गोधुलीमा युवापुस्तादेखि ज्येष्ठ नागरिक पार्कमा टहलिन्छन् । वरविपल र स्वामीको छहरीमा बसेर आनन्द लिन्छन् । डढेलोपछि वायुमण्डलमा थुप्रिएको प्रदुषणमा बिलिन गुलमोहर वर्षासंगै खुलेको आकाश जस्तै मुस्कुराईरहेको छ । बसन्त ऋतुको आगमनसंगै ढकमक्क फुलेको गुलमोहरले पार्कको सुन्दरता बढाएको छ । प्रसिद्व धार्मिक शक्तिपिठ बागलुङ कालिका भगवती मन्दिरदेखि बाङेचौर खेलमैदानसम्मको सडकमा गुलमोहरले सुन्दरता थपेको छ । सौन्दर्य बढाउने फूलको रुपमा लिईने यसलाई बगैँचा, सडक साइड तथा पार्कमा लगाइन्छ ।
बागलुङ नगरपालिकाका पहिलो जननिर्वाचित नगरप्रमुख ऋषिराम शर्माले परिकल्पना गरेको शहिद स्मृति पार्कमा रोपिएका गुलमोहरका रुख वर्षेनि मासिदै गएका छन् । बागलुङ–पोखरा सडक स्तरोन्नति र बिजुलीका पोलका कारण रुखका हाँगा कलमी गर्दा नासिने खतरा बढेको छ । बजारछेउ रहेको पार्कमा थपिएका संरचनाले यसको महत्व चुलिदै गएपनि संरक्षण भने कसैको ध्यान गएको देखिदैन । पार्कको सरसफाई, फुल र रैथाने प्रजातिका रुखहरु संरक्षणका लागि आवश्यक मालीको अझै व्यवस्था हुन सकेको छैन । पार्कलाई सुरक्षित राख्न घेराबार लगाउने काम हुन सकेको छैन । विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोग आयुर्वेदिक अस्पतालले पार्क परिसरमा निर्माण गरेको खुला व्यायामशालाका उपकरण संरक्षण नहुँदा जीर्ण बनेका छन् । ऋषिराम शर्मा हामीमाझ नभएपनि नगरपालिकाको संस्थागत विकासका लागि उनले परिकल्पना गरेका योजना कति दूरदर्शी थिए भन्ने उदाहरण शहिद स्मृति पार्कमा बढ्दै गएको चहलपहललाई हेरे काफी हुन्छ । पार्कलाई थप आर्कषित बनाउन सकेन लिन सकिने थुप्रै लाभहरु छन् । यसतर्फ गाउँका सिंहदरबारले सोच्न ढिला गर्नुहुदैन ।
विकिपिडियाका अनुसार, गुलमोहर रातो रंगका फुलहरू फुल्छन् । यसको जन्मभूमि मेडागास्करलाई मानिन्छ । फ्रांसीसीहरूले गुलमोहरलाई ‘स्वर्गको फूल’ भन्छन् । कोसा जातिको यो फूलको बोट फूलहरूमा सबैभन्दा ठूलो मानिन्छ । वैज्ञानिक नाम डेलोनिक्स रेगिया रहेको र काँडा नहुने यो फूलको वास्ना भने हुँदैन । १२ वर्ष आयु रहेको यो फूल गाढा रातो, पहेंलो र रातो पहेंलोको मिश्रण हुने भएपनि नेपालमा गाडा रातो रंगका मात्र छन् । नेपालको तराई, शिवालिक र दून उपत्यकामा १ हजार मिटर उचाइ सम्ममा गुलमोहर पाउन सकिन्छ ।


















