पोखरा/तमु समुदायको पुरानो र अग्रणी सामाजिक संस्था तमु धिं नेपालले एवं गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङलाई सम्मान अर्पण गर्ने भएको छ । तमु धिंले आफ्नो ४० औं वर्ष प्रवेशको अवसरमा यही जेठ ५ गते शनिवारका दिन शिक्षाविद् एवं समाजसेवी गणेशबहादुर गुरुङ स्मृतिकोषबाट प्राडा गुरुङलाई १ लाख ११ हजार ११ रुपैयाँसहित शैक्षिक सम्मान अर्पण गर्न लागेको हो ।
वार्षिक रुपमा शैक्षिक तथा सामाजिक व्यक्तित्व सम्मानित गरिने क्रममा यसवर्ष स्याङजा जिल्ला, आँधिखोला गाँउपालिका वडा नं. १ सिरुवारी गाँउभई त्रिभुवन विश्वविद्यालय समाजशास्त्र मानवशास्त्र केन्द्रिय विभागका पुर्व प्रमुख, राष्ट्रिय शिक्षा आयोगका पुर्व सदस्य, विश्वविद्यालय अनुदान आयोगका पुर्व अध्यक्ष, संविधानसभा सदस्यसमेत रहेका गुरुङलाई शैक्षिक एवम सामाजिक क्षेत्रमा पुर्याउनुभएको योगदानका कारण शैक्षिक सम्मान गर्ने निर्णय गरिएको तमु धिं अध्यक्ष हुमबहादुर गुरुङले बताए । यसअघि उक्त कोषबाट शैक्षिक व्यक्तित्व जोर्ज जोन, सामाजिक व्यक्तित्व भद्रकुमारी सम्मानित भईसकेका छन ।
तमु धिंले पोखरा– ९ नयाँबजारमा केन्द्रिय कार्यालयको सरसफाई, रक्तदान कार्यक्रम, शुभकामना आदानप्रदान, शैक्षिक सम्मान अर्पण, बधाई ज्ञापनसहित विविध साँस्कृतिक कार्यक्रम गरी स्थापना दिवस मनाउने भएको हो। देश, प्रवास, जिल्ला र क्षेत्रिय शाखा, संघसंस्था, समाजको छाता संस्थाको रुपमा क्रियाशिल तमु धिं नेपालले जेठ ८ गते बिहान शान्तिबनबाटिका सरसफाई गर्नेभएको छ। तत्कालिन पञ्चायती व्यवस्थामा संघ संस्था खोल्न बन्देज भएको अवस्थामा समुदायका लागि आवाश्यकताका कारण लुकीछिपी शान्ति बनबाटिकामा २०४२ साल जेठ ५ गते सम्पन्न भेलाबाट कर्म तमुको अध्यक्षतामा तमु धिं नेपाल स्थापना भएकाले संस्था स्थापित थलोको सरसफाई गर्ने कार्यक्रम आयोजना गरिएको अध्यक्ष गुरुङले जनाए । यसरी नै जेठ ५ गते तमु धिं नेपाल केन्द्रिय युवा समितिले तमु धिं नेपालको प्राङ्गणमा रक्तदान–जीवनदान नाराका साथ खुल्ला रक्रदान कार्यक्रम आयोजना गरिएको युवा समितिका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुदर्शन गुरुङले बताए ।
यसरी नै जेठ ५ गते दिउँसो गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान, गण्डकी प्रदेशका पुनः नियुक्त हुनुभएको मुख्यमन्त्री, मन्त्रीहरुलाई तमु धिं नेपाल एवम तमु समाजहरुबाट बधाई साथै विविध साँस्कृतिक कार्यक्रम गरिने तमु धिं नेपालले जनाएको छ।





