पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसँग नेपालका लागि युरोपियन युनियन (ईयू)का राजदूत भेरोनिक लोरेन्जोले आइतबार शिष्टाचार भेट गरेका छन् । मुख्यमन्त्री अधिकारी र राजदुत लोरेन्जोसबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखरामा भेट भएको हो ।
भेटमा नेपाल र युरोपियन युनियनबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा महत्वपूर्ण छलफल भयो ।
भेटका क्रममा मुख्यमन्त्री अधिकारीले युरोपिन युनियन नेपालको आर्थिक विकासमा निकै महत्वपूर्ण साझेदार भएको बताए ।
‘गण्डकी प्रदेश प्राकृतिक र सांस्कृतिक रुपमा धनी प्रदेश हो, हाम्रा प्राथमिकतामा पर्यटन, विद्युत, पशुपालन, कृषि वनमा आधारित र सुगन्धित वनस्पति साथै चिया कफीको प्रवद्र्धन समावेश छन,्’ मुख्यमन्त्री अधिकारीले भने । यी क्षेत्रमा व्यापार र लगानी बढाउन सहकार्य गर्न गण्डकी प्रदेश सरकार इच्छुक रहेको पनि उनको भनाइ थियो ।
युरोपियन युनियन र नेपालले यो बर्ष ‘सँगसँगै बलियो हुँदै’ भन्ने नाराका साथ कुटनीतिक सम्बन्धको ५० औं बर्षगाँठ मनाइरहेका बेला भएको भेटमा राजदूत लोरेन्जोले जलवायु परिवर्तनले पारेको असर तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका बारेमा चासो व्यक्त गरे ।
जलवायु परिवर्तन तथा वातावरण प्रदुषणका कारण पोखरा आउँदा हिमाल हेर्न नपाएकोमा राजदूत लोरेन्जोले चिन्ता व्यक्त गरिन् । ‘मेरो श्रीमान् दुई पटक पोखरा आउनुभयो, उहाँले दुवैपटक हिमाल हेर्न पाउनुभएन,’ लोरेन्जोले गुनासो गरिन् । प्रदुषणका कारण पोखराको सौन्र्दयतामा आएको ह्रासले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पर्ने सक्ने आशंका उनको थियो ।
युरोपियन युनियन र नेपालले राजनीतिक तथा आर्थिक सम्बन्ध सन् १९७४ मा स्थापित गरेका थिए भने सन् १९९६ को जुन १ मा साझेदारी सम्झौता सम्पन्न भएको थियो । युरोपियन युनियनको सहयोगमा नेपालमा विभिन्न परियोजना संचालनमा छन् ।





