बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

राजनीतिक संरक्षणमा भ्रष्टाचार : पूर्वसभामुख ढुंगाना

राजनीतिक संरक्षणमा भ्रष्टाचार : पूर्वसभामुख ढुंगाना


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०८१, आइतबार

पोखरा/प्रतिनिधि सभाका पूर्वसभामुख दमननाथ ढुंगानाले तीन ठूला पार्टीको संरक्षणमा भ्रष्टाचार हुँदा प्रजातन्त्र संकटमा परेको बताएका छन् । नेपालको आधुनिक इतिहासको सबैभन्दा धेरै भ्रष्टाचार अहिले नै भएको बताउँदै उनले कांग्रेस, एमाले र माओवादीकै संरक्षणमा भ्रष्टाचार भइहरेको जिकिर पनि गरे ।
गणेशमान सिंह फाउन्डेसन गण्डकी प्रदेशले गणतन्त्र दिवसको अवसरमा आयोजित नेपालको प्रजातान्त्रिक आन्दोलनका महान योद्धाहरु सम्मान समारोहको सम्बोधन गर्दै ढुंगानाले उक्त कुरा बताएका हुन् । हिजो कांग्रेसको मतभेद राजासँगमात्रै भएपनि आज कम्युनिष्ट पार्टीसँग समेत रहेको उनले सुनाए । उनले कम्युनिष्ट पार्टीले प्रजातन्त्रलाई स्वीकार गर्न नसक्दा प्रजातन्त्र संकटमा परेको जिकिरसमेत गरे ।
‘नेपालको इतिहासमा अहिले जति भ्रष्टाचार कहिले पनि भएको छैन् । प्रजातन्त्रलाई कहिँबाट खतरा छ भने त्यो हो– भ्रष्टाचार । भ्रष्टाचारमा यो पार्टी छ, यो नेता छ यो छैन भनेर हुँदैन । हरेक भ्रष्टाचारको पछाडी कुनै न कुनै पार्टीको संरक्षण छ,’ उनले भने, ‘पार्टीको संरक्षणमा भ्रष्टाचार भइरहेको छ । कुन पार्टी योबाट अलग हुन्छ ? तीन पार्टी त भ्रष्टाचारमा चुर्लुम्मै डुबेका छन् ।’
कांग्रेससमेत भ्रष्टाचारमा डुबेको बताउँदै उनले आफूहरुले देशकै फोहोर सफा गर्ने कांग्रेस खोजेको बताए । कांग्रेस निकै फोहोरी भएको र भ्रष्टाचारमै डुबेको कारण कम्युनिष्टहरुको उदय भएको उनको भनाइ छ । उनले इतिहासलाई मात्र रटेर नहुने बताउँदै वर्तमानलाई सम्बोधन गरेर भविष्य हेर्नुपर्नेमा जोड दिए । कम्युनिष्टहरुलाई चुनौती दिनका लागि कांग्रेसले समाजवाद र प्रजातन्त्रलाई केन्द्रमा राख्नुपर्ने उनको धारणा थियो । पटकपटक प्रजातन्त्रका लागि लडेको कांग्रेसले इतिहास रटेरमात्र नहुने र वर्तमानलाई हेरेर भविष्य सोच्नुपर्ने उनको भनाइ थियो ।
‘पटकपटक प्रजातन्त्र ल्यायौं । सात साल, ०४६ सालम ल्यायौँ र फेरि लागिरहेका छौं तर पनि यो निश्चित छैन कि संस्थागत हुन्छ भनेर । आजको राजनीतिक संकट भनेकै कम्युनिष्ट र प्रजातन्त्रवादीबीचको अन्तरविरोध हो । कम्युनिष्टहरुलाई प्रजातन्त्र नभए पनि केहि फरक पर्दैन । यो प्रजातन्त्र टिकाउँदै–टिकाउँदैनन् । उनीहरुको यो गन्तव्य होइन, आस्था होइन,’ उनले थपे, ‘टिकाउने नै हो भने कांग्रेसले मात्र सक्छ । किनभने कांग्रेसको आस्थानै प्रजातन्त्र हो । बरु, मधेशका पार्टीले सक्छन् । उनीहरु कम्युनिष्ट होइनन् । कम्युनिष्टहरु एक भएझैँ प्रजातन्त्रवादी पनि एक हुनुपर्छ ।’
२०६२÷०६३ सालमा माओवादी युद्ध सकिएसँगै शान्ति सम्झौता सुरु गरिए पनि आजसम्म शान्ति प्रक्रिया पूरा नहुँदा संक्रमणकालीन न्याय प्राप्त गर्न नसकिएको उनले सुनाए । ‘संयुक्त राष्ट्र संघमा अहिले पनि नेपालले लाज मानेर बस्नुपर्ने स्थिति रहेको छ । प्रत्येक बैठकमा जाँदा ऐन बनाउँदै छौं । अर्को वर्ष हुन्छ भन्ने भाष्य निर्माण भएको छ । नेपाल शान्ति प्रकियाको अन्तर्राष्ट्रिय दायित्वबाट समेत चुकिरहेको छ,’ उनले भने,‘
‘अहिलेसम्म शान्ति प्रकिया भएको छैन । जसले हतियार उठाए त्यसले त्यो हतियार राजनैतिक हतियार हो कि माफी दिन सकिने किसिमको हतियार हो भनेर कमिशनले निर्णय गर्नुपर्छ ।’ उनले कानून बनिसकेपछि आयोगमा गएर माओवादी नेताले हाजिर गरेर के कारण किन युद्ध गरेको बयान दिन पर्ने भए पनि त्यसो नभएको उल्लेख गरे ।
सोही क्रममा बोल्दै गणेशमान फाउन्डेसनका केन्द्रीय महासचिव घनेन्द्रपुरुष ढकालले प्रजातन्त्रले देशलाई धेरै कुरा दिएको बताए । गणेशमान सिंहले दिएको मार्गमा हिँड्न नसक्दा आज नेताहरु कुर्सीको स्वार्थमा दौडधूप गरिरहेको उनले सुनाए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ०४६ सालमा गणेशमान सिंहको नेतृत्वमा भएको आन्दोलनलाई कांग्रेसले टिकाउन नसकेको बताए । २०६२÷०६३ सालमा पुनः जनआन्दोलनले बनाएको संविधानलाई जोगाउने चुनौतीमा कांग्रेस रहेको उनले बताए ।
संविधानको मर्म विपरित सत्ताका लागि नैतिकता बिर्सेर लाग्दा चुनौती थपिएको उनको भनाइ थियो । ‘६० बहुमत ३० भएको छ । यसलाई कुन प्रजातन्त्रको रुपमा लिने ? राजनीतिक दलका कारण आज न्यायलय प्रोएक्टिभ बनाइरहेका छौं । न्यायलयमा पनि न्यायमूर्ति इजलासमा को बस्नुहुन्छ, मैले न्याय कस्तो पाउँछु भन्ने कुरा पहिले नै प्रडिक्सन गर्ने भइसके,’ गण्डकी प्रदेशमा ३० सांसदको समर्थनलाई नै बहुमत भन्दै सर्वोच्चले यसअघि गरेको फैसलाप्रति संकेत गर्दै उनले भने ‘न्यायलयप्रति नै यस्तो धारणा हुन थाल्यो भने न्यायिक सर्वोच्चता, मर्यादा पनि रहँदैन । आज त्यही हुन खोजेको छ, भइराखेको छ ।’
प्रजातान्त्रिक आन्दोलनमा योगदान दिने पाँचजना सम्मानित
फाउन्डेसनले प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिने गण्डकी प्रदेशका सातजना व्यक्तिलाई सम्मान गरेको छ । फाउन्डेसनले प्रजातन्त्र सेनानी कास्कीका पुलेन्द्रमान श्रेष्ठ, मानङका पूर्वजिल्ला सभापति कोमलबहादुर घले, बागलुङका पूर्वजिल्ला सभापति गोविन्दप्रसाद शर्मा कँडेल, स्वतन्त्रता सेनानी स्याङजाका तारापति सुवेदी र प्रजातन्त्र सेनानी तनहुँका लेखबहादुर थापालाई सम्मानपत्र, दोसल्ला र नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो । सम्मानितको तर्फबाट बोल्दै लेखबहादुर थापाले पुर्खाले देशको स्वतन्त्रताको लागि लडिरहँदा अहिलेका नेताले देशको सम्पत्ति लुटेर खानेबाहेक अन्य काम नगरेको बताए । लोभ र स्वार्थको राजनीतिले देशलाइ खोक्रो पारेको सुनाउँदै उनले यस्ता गतिविधिलाई तिरस्कार गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->