पोखरा/गण्डकीका प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) को ज्यान मार्ने उद्योगको मुद्दा हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजसालमा पेशी परेतापनि सुनुवाइ भने भएन । यसअघि वैशाख ७ गते पनि उनको पेशी हेर्न नभ्याइनेमा नै परेको थियो । यो मुद्दामा सर्वोच्चले अर्को पेशी तोक्नेछ ।
मनाङेविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको छ ।
२०७४ सालमा मनाङ ‘ख’ बाट निर्वाचित भएका मनाङेले तत्कालै सपथग्रहण लिन पाएका थिएनन् । उनी त्यतिबेला ज्यान मार्ने उद्योगमा प्रहरीको खोजी सूचीमा थिए । २०७५ वैशाखमा भने प्रहरीले नियन्त्रणमा लिइ मनाङे कारागार चलान हुन पुगे । उनलाई ७ वैशाखमा काठमाडौं प्रहरी परिसरको टोलीले स्वयम्भूबाट पक्राउ गरेको थियो । मनाङे ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए ।
दीपक मनाङ्गेको समूहले २०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई खुकुरी प्रहार गरेको थियो । त्यही घटनामा प्रहरीले उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेपनि जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभइ कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष जेल सजाय सुनाएको थियो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो । त्यो फैसला उल्टाउँदै पुनरावेदन अदालत पाटनले ०६९ मा ज्यानमुद्दा ठहर गर्दै मनाङ्गेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो ।
अदालतको आदेश आएतापनि मनाङे ६ वर्षपछि २०७५ मा पक्राउ परेपछि कारागार चलान भएका थिए । सोही वर्षको पुस पहिलो हप्ता सर्वोच्च अदालतले उनलाई थुनाबाहिरै रहेर मुद्दा लड्न पाउनेगरि सर्वोच्चले थुनामुक्त गर्न आदेश दियो ।
अदालतको आदेशसँगै थुनामुक्त भएका मनाङे अहिले पनि गण्डकी प्रदेशसभा सदस्य छन् । अझैपनि उनको मुद्दा किनारा लागिसकेको छैन ।





