पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल एमालेका नेता खगराज अधिकारीसंग आफुलाई विश्वासको मत दिन आग्रह गरेका छन । पाण्डेले लिखित पत्र नै पठाएर यस्तो आग्रह गरेका हुन । पत्र प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले एमालेका मुख्य सचेतक गोविन्द नेपालीलाई आइतबार हस्तान्तरण गरे ।
सर्बोच्च अदालतको परामादेशपछि पाण्डे यही जेठ १६ गते दोस्रोपटक मुख्यमन्त्री बनेका हुन । उनले जेठ २८ मा प्रदेशसभाको बैठकमा विश्वासको मत लिदै छन ।
पाण्डेले अधिकारीलाई पठाएको पत्र यस्तो छ ।
नेपालको संविधान र प्रदेश सभा नियमावली २०८० ले व्यवस्था गरे बमोजिम मैले यही मिति २०८१ जेठ २८ गते दिनको ३ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतको लागि प्रस्ताव पेश गर्ने व्यहोरा जानकारी गराउन चाहान्छु । स्थायित्व र जनआकांक्षा अनुरुप प्रदेशको समग्र विकास र उन्नति हामी राजनीतिक दल बीचको सहकार्य र समन्वयबाट मात्रै सम्भव छ ।
राजनीतिक दलहरु बीचको सहकार्यबाट स्थिर सरकार निर्माण गरी प्रदेशलाई दिगो विकासको दिशामा अगाडि बढाउन मैले प्रस्ताव गरेको विश्वासको मतको प्रस्तावको पक्षमा यहाँ र यहाँको दलको सदस्यहरुले मतदान गरि सहयोग गरिदिनु हुन अनुरोध गर्दछु ।





