पोखरा/ प्रहरीले एक करोड भन्दा बढी मुल्यका चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. २२ घर भई हाल पोखरा वडा नम्बर १३ मियापाटन बस्ने नविन नेपाली र गोरखा स्थायी घर भई हाल पोखरा वडा नम्बर ४ गैह्रापाटन बस्ने सुवास थापा मगर छन । उनीहरुबिरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जना पेशेबर चोर रहेको र निजहरुलाई यस भन्दा अगाडी समेत चोरी मुद्दामा पक्राउ तथा कारवाही भएको पाइएको छ ।

प्रहरीका अनुसार यही जेठ ११ गते रातीको समयमा पोखराको घारिपाटन स्थित पोखरा हाउजिङ नजिकै लक्ष्मीकान्त शर्मा र सोही घरमा डेरा गरी बस्ने कृष्णजी पौडेल समेतको घर कोठाको मुल ढोका तथा अन्य कोठाहरुको ढोका फोरेर कोठाभित्रका सुनका गरगहना ४२ तोला, मोवाईल, ल्याप्टप, क्यामेरा तथा अन्य सामानहरु र नगद ३ लाख ८० हजार रुपैयासमेत गरी १ करोड भन्दा बढीका सरसामानहरु चोरी गरी फरार भएका थिए ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम समेतबाट विशेष अनुसन्धान टोली खटिई विभिन्न प्राविधिक विश्लेषण तथा सिसीटिभी फुटेजका आधारमा अनुसन्धान गर्दै जाँदा उक्त चोरीमा नेपाली र थापामगरको संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको कोठाबाट सुनका विभिन्न गरगहना २४ तोला ८४ लाल, २२ वटा मोबाइल, ९ वटा क्यामरा, १५ वटा ल्यापटप, २ वटा टिभी, ४६ वटा चरेश, तामा तथा चाँदीका भाँडावर्तन, २ वटा कफि मेशिन, नगद ११ हजार ५ सय ६८, ११ वटा घडी, २ वटा ड्रोन क्यामरा, नागरिकता, राहदानी, २ वटा रेडियो सेट (वाकीटाकी) र चार्जर बरामद भएको छ । यसैगरी चोरीमा प्रयोग हुने फलामको रड, पेन्चीस, हेक्सा ब्लेड, पिलास, तार काट्ने कटर, फलामको कुटो पनि बरामद भएको छ ।
दुवै जनाले साँझको समयमा करीव २ देखि ३ घन्टा घरहरु अवलोकन गर्ने र बत्ती नबलेपछि ती घरमा चोरी गर्ने, विभिन्न कार्यालयमा काम गरेर फर्केपछि केही समय बाहिर मनोरञ्जन गर्न निस्किनेबित्तिकै चोरी गर्ने, दुई मध्ये एकजनाले चोरी गर्ने घरको स्थानको वरपरको एरियामा गई निगरानी गरी सूचना संकलन गर्ने र घरमा मानिस भए नभएको यकिन गरी अर्को साथीलाई खवर गरी चोरी गर्ने गरेको प्रारम्भिक सोधपुछको क्रममा खुलेको प्रहरीको भनाई छ । पक्राउ परेका मध्ये सुवास थापा मगरको नाममा मिति २०७५ चैत १० गते जिल्ला प्रहरी कार्यालय कास्कीबाट चोरी मुद्दा चलेको र नेपालीको नाममा २०८० बैशाख १७ गते चोरी मुद्धा चलेको थियो । पटकपटक गरी उनी करिव ८ वर्ष कारागारमा जेल सजाय भुक्तान गरी पछिल्लो पटक अन्दाजी १० महिना अगाडी जिल्ला कारागार कास्कीबाट छुटेको प्रहरीले जनाएको छ ।
उनीहरुले यसअघि यही बैशाख १२ मा पोखराको नदीपुरस्थित गण्डकी बोडी बिल्डिङ अगाडि रेको बेथेस्टा इन्टरनेशनल ल्याङवेयज सेन्टर प्रालिबाट १६ थान ल्यापटप चोरी गरेका थिए यसैगरी बैशाख १६ मा पोखराको जाल्पारोडस्थित मनिका शाही गुरुङको बिन्स एण्ड बेरिज क्याफेबाट कफी बनाउने ठुलो मेसिन १ र ग्रयाण्डल, बैशाख २९ मा पोखरा २७ खरानीफाँट स्थित प्रतिभा नेपालीको घर कोठाबाट ड्रोन क्यामरा, क्यामरा, ल्पापटप, सुनका गरगहनाहरु चोरी गरेका कास्की प्रहरीका निमित्त सूचना अधिकारी अविनास दीप जिसीले बताए ।





