पोखरा
माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादी केन्द्रले उनलाई निलम्बनका लागि पार्टी नेतृत्वसमक्ष पत्राचार गरेको छ । देवकोटाले सोमबार माओवादी केन्द्रको संसदीय दलको ह्विप विपरीत फ्लोर क्रस गरेका थिए ।
सोमबारै बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले संसदीय दलको बिधान विपरीत चलेको, दलको ह्विप उलंघन गरेकाले निलम्बन प्रक्रिया अघि बढाउन भन्दै पार्टी केन्द्रलाई पत्राचार गरिएको गण्डकी प्रदेश सभामा माअोवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक कुशुम बुढा पुनले बताइन । ‘हामीले हिजै बैठक बसेर कारवाहीका लागि केन्द्रलाई पत्राचार गरिसकेका छौ’ उनले भनिन्, ‘केन्द्रको निर्णय अनुसार हामी अघि बढ्छौ ।’
राजनीतिक दल सम्बन्धि ऐनको दफा ४९ मा एकल चुनाव चिन्ह लिएर निर्वाचन लडेका र निर्वाचित सांसद समेत रहेर एउटै संसदीय दल गठन हुने भन्ने व्यवस्था छ । त्यस्तो संसदीय दललाई सचेतकले ह्विप लगाउन सक्ने व्यवस्था पनि उक्त दफामा छ । तर सोही ऐनको दफा २८ को उपदफा ३ ले सचेतकले ह्विप लगाउँदा पालना नगरे कारवाहीका लागि सम्बन्धित दलमा सिफारिश गर्ने व्यवस्था रहेको छ । सचेतकले कारवाहीका लागि कुन दललाई सिफारिश गर्ने भन्ने कुरा भने नखुलेकाले माओवादीले देवकोटालाई कारवाही गर्न मिल्ने नमिल्ने विषय पेचिलो बनेको छ ।





