काठमाडौं/नेपालले आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ । बिहीबार भएको खेलमा नेपालले कुवेतलाई १ सय ८ रनले पराजित गरेको हो ।
नेपालले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको कुवेतले १३ ओभरमा सबै विकेट गुमाउँदै २२ रन मात्रै बनाउन सक्यो । जितसँगै नेपालले दुई खेलबाट चार अंक पु¥याएको छ । यसअघि नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गरेको थियो ।
नेपालले अब शनिबार घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्दै पहिलो चरणको खेल सक्काउने छ । त्यसपछि दोस्रो चरणमा नेपालले यिनै टोलीलाई चुनौती पेस गर्नेछ ।
शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछन् र विजेताले अर्को वर्ष मलेसियामा हुने विश्वकपमा स्थान बनाउने छन् । युएई छनोटमा साबिकको विजेता टोली हो ।
नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा कुवेतकी ओपनर जेफा जिलियानीबाहेक अन्यले कुनै ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । ७ बल खेलेकी उनले दुई चौकासहित १२ रन मात्र बनाइन् ।





