बागलुङ (खर्वाङ)/बागलुङको बडिगाड गाउँपालिका ७ टुनिबोटमा पिकअप जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । पालिकाको रणसिंहकिटेनीबाट आफ्नै कार्यालयतर्फ जाँदै गरेकोप्रदेश ३–०१–०२२ च ८८८५नम्बरको शिखर हाइड्रोपावरको जिप दुर्घटनामा परेको वडाध्यक्ष दीपेन्द्रप्रताप केसीले जानकारी दिए ।
दुर्घटनाका एक जना घाइतेबाहेक सबैको अवस्था मध्यम छ । दुर्घटनामा पिकअप चालक स्याङ्जाको गल्याङ नगरपालिका–८ का ३० वर्षीय हिमाल श्रेष्ठ, दोलखाको दोलखा नगरपालिका–६ का ३५ वर्षीय रमेशकुमार जिरेल, बागलुङको बडिगाड गाउँपालिका–७ का एक वर्षीय आरुष पाइजा, सोही ठाउँका २० वर्षका अमृत पाइजा र २० वर्षीय सन्दीप गुरुङ घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले पुष्टि गरे ।
घाइतेसबैको अहिले बुर्तिबाङ अस्पतालमा उपचार जारी छ । २० वर्षीय अमृत पाइजाको अवस्था सामान्य छ भने अन्यको अवस्था मध्यम छ । घाइते श्रेष्ठ र जिरेल हाइड्रोपावरका कर्मचारी हुन् ।
जिप सडकबाट करिब १ सय ५० मिटर तल खसेको थियो । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





