बागलुङ/सिवाइसी सहकारी संस्था लिमिटेडले १७ औं समृद्दि दिवश मनाएको छ । स्थापना भएपछि हरेक बर्ष सिवाईसीले समृद्दि दिवश मार्फत सबै शेयर सदस्यलाइ सहकारीको महत्व बारे जानकारी दिने, सहकारीले हाल सम्म गरेका कामको विवरण उपलब्ध गराउने र सहकारीको वित्तिय अबस्था समेत जानकारी दिने गरेको छ ।
साधारणसभालाई सहकारीले क्षेत्रीय रुपमा संचालन गर्न थालेपछि समृद्दि दिवश मार्फत अन्य जानकारी समेत दिने गरेको हो । २७ हजार ९८ जना शेयर सदस्य रहेको सिवाईसीले सबै शेयर सदस्यलाई एकैस्थानमा जुटाउन कठिन भएपछि क्षेत्रीय रुपमा साधारणसभा गर्दै आएको छ ।
समृद्दि दिवशको अबसरमा सहकारीले शेयरसदस्यलाई सहकारी शिक्षा समेत दिने गरेको छ । सहकारी बिज्ञ प्रेमनाथ काफ्ले, अध्यक्ष चण्डीप्रसाद शर्मा समेतले शेयरसदस्यकालागि नीति नियम, सहकारी ऐन, वर्तमान अबस्था, शेयर सदस्य र संचालकको काम कर्तव्य अधिकार र राज्यको दृष्टीकोण बारे प्रशिक्षण गरिएको थियो ।
कार्यक्रमम मार्फत सहकारीलाई बलियो बनाउने, ऋण र बचतको अनुपात मिलाउने, नाफा कमाएर शेयर सदस्यलाई समृद्दिको बाटोमा लैजाने जस्ता बिषयमा बढी केन्द्रीत भइ सहजीकरण गरिएको अध्यक्ष चण्डीप्रसाद शर्माले बताए । शर्माकै अध्यक्षतामा भएको कार्यक्रममा चारतारे युवाक्लबका उपाध्यक्ष लक्ष्मण खड्का, एकता सहकारी संस्थाका उपाध्यक्ष रुद्रबहादुर महत, शेयर सदस्य नारायण पौडेल, सहकारी बिज्ञ प्रेमनाथ काफ्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए । सल्लाहकार सीता शर्माको स्वागत, सहसचिव सुवास आचार्यको संचालनमा सम्पन्न भएको कार्यक्रममा सिइओ नवराज शर्मा, मुक्तिनाथ सेवा केन्द्रका प्रमुख कमल तिवारी, कल्याणकारी सेवाकेन्द्र तित्याङका पूजा पौडेल, नवमालिका सेवा केन्द्रकी प्रमुख हेलिना रोका, तिरुपति सेवा केन्द्रकी ज्योती पौडेल, मुलपानी सेवा केन्द्रकी गिता केसी लगायतले केन्द्रको प्रगती प्रतिवेदन पेश गरेका थिए ।
२७ हजार ९८ जना शेयर सदस्य रहेको सिवाइसीमा ३८ करोड ७१ लख शेयर पूजि, ५३ करोड जोखिम कोष, २० करोड १६ लाख जगेडाकोष र २ अर्ब ४५ करोड कुल सम्पत्ति रहेको अध्यक्ष चण्डीप्रसाद शर्माले बताए । हाल सिवाईसी सहकारीले २५ वटा सेवा केन्द्र र १ केन्द्रीय कार्यालय गरी २६ स्थानबाट सेवा प्रवाह गरिरहेको छ ।
सिवाईसीले कुशल व्यवस्थापन गरेका कारण सहकारी संकट आएको बेलापनि आम नागरिकको रकम सुरक्षा गरेको, आवस्यक पर्दा भुक्तानीमा समस्या नभएको, पर्याप्त लगानी र सोही अनुसारको ऋण असुली समेत भएको सहकारी संस्थाको रुपमा बिकास भएको शर्माले बताए । जिल्लामा सहकारी अभियान अगाडि बढाएर सहकारी प्रति विश्वास बढाउन पनि सिवाईसी सफल भएको छ । सिवाइसीले दर्जन बढी रचनात्मक कार्य मार्फत सहकारीको गतिविधि अगाडि बढाउने गरेको छ ।





