बागलुङ/नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले युवामाझ लोकप्रिय कांग्रेस बनाउने बताएका छन् । उनले त्यसका लागि युवाको चाहना अनुसारका काममा पनि कांग्रेस सक्रिय बन्नुपर्ने धारणा राखे ।
नेपाली कांग्रेस प्रदेश समितिको आयोजनामा बुर्तिवाङमा भएको अन्तरक्रिया तथा लोकमार्ग आसपासको विकास अनुगमनको क्रममा आयोजित कार्यक्रममा प्रवक्ता महतले विकास निर्माणमा युवाको सहभागिता बढाउनुपर्ने समेत बताए ।
रुकुम र जाजरकोटमा हुने उपनिर्वाचनको प्रचारमा निस्कने क्रममा बागलुङ आएका महतले मध्यपहाडी लोकमार्गको अनुगमन समेत गरेका हुन् । नुवाकोटदेखि जाजरकोट सम्मको खण्डको अनुगमन गर्ने क्रममा उनले लोकमार्गको आसपासका पालिका, कांग्रेसका नगर, प्रदेश र जिल्ला समितिमा छलफल पनि चलाएका हुन् ।
उनले लोकमार्गबाट स्थानीयले पाएको फाइदाको तथ्यांक निकाल्ने, बन्न नसकेका खण्ड छिटो काम सक्न दबाव दिने, लोकमार्ग आसपासमा अत्यावस्यक योजनालाई आगामी बजेटमा प्राथमिकीकरण गर्ने लगायतको काममा समेत निस्केको बताए ।
मंसिर १५ गते देशभरका विभिन्न जिल्लामा उपनिर्वाचन हुँदैछ । त्यसको क्रममा महतलाई रुकुम र जाजरकोटका विभिन्न कार्यक्रमका लागि पार्टीले खटाएको छ । साथै सोही क्रममा विकासे योजनाको अनुगमन गर्ने काममा पनि लगाइएको हो ।
मंगलबार नेता महतले पार्टीको जिल्ला समिति र गलकोट नगर समितिसँग अन्तरक्रिया गरेका थिए । बुधबार ढोरपाटन नगरपालिका र बागलुङ क्षेत्र नं. २ तथा प्रदेश ख समितिका पदाधिकारीसँग छुट्टाछुट्टै र संयुक्त भेट गरेर विकास योजनालाई चुस्त बनाउन खेल्नुपर्ने भूमिकाबारे प्रशिक्षण समेत दिएको कांग्रेस जिल्ला कार्यसमितिका सहसचिव फमबहादुर खत्रीले बताए ।





