बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

३५ वर्षपछि पर्वत अस्पतालमा लिफ्टमार्फत पानीको आपूर्ति

३५ वर्षपछि पर्वत अस्पतालमा लिफ्टमार्फत पानीको आपूर्ति


  • संजय रेग्मी
  • कार्तिक २९ २०८१, बिहिबार

पर्वत/निर्माणको ३५ वर्षसम्म पानीको आफ्नै योजना नहुँदा समस्या झेल्दै आएको पर्वत अस्पतालमा अब भने ‘लिफ्ट’ प्रणालीको आफ्नै योजनामार्फत् पानीको आपूर्ति सुरु भएको छ ।
अस्पतालमा पानीको आवश्यकता धेरै हुने भए पनि शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले आपूर्ति गरेको सीमित समयमा पानीले अस्पतालले समस्या भोग्दै आएको थियो । संस्थाले बिहान र बेलुकाको समयमा मात्रै पानी छाड्ने तर अस्पतालमा भने २४ सै घण्टा धेरै पानी चाहिने अवस्था थियो । पानीको अभावमा शौचालयदेखि लुगा धुन र अन्य प्रयोजनका लागि पानीको पिर हुने गरेको थियो ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष शङ्कर गिरीका अनुसार कुश्मा नगरपालिका–५ गोपाङघाटमा रहेको मूलबाट ‘लिफ्ट’ प्रणालीबाट पानी ताने अस्पतालको ट्याङ्कीमा खसालिएको छ । कालीगण्डकी नदी किनाराभन्दा केही माथि गोपाङघाटमा रहेको पानीको मूलबाट निस्कने पानीलाई करिब सात हजार लिटर बराबरको ट्याङ्कीमा सङ्कलन गरिएको छ । संकलित पानी करिब आठ सय मिटर लम्बाइको पाइप मार्फत मोटरले तानेर अस्पतालको ट्याङ्कीमा खसालिएको छ । अस्पताल परिसरमा रहेको एक लाख ५० हजार लिटर क्षमताको ट्याङ्कीमा जम्मा भएको पानीले अस्पतालका सबै कामका लागि सुविधा भएको छ ।
गण्डकी प्रदेश सरकारले अस्पतालको आफ्नै पानीको स्रोत निर्माण गर्न ५० लाख रुपैयाँ बजेट दिएपछि गत वर्षको चैतबाट योजना निर्माणको काम सुरु भएको थियो । निर्माण सुरु भएको चार महिनामा नै त्यो पनि २७ लाखमा नै पूरा भएको हो । ‘हामीले ध्यानपूर्वक काम गर्दा ५० लाखको बजेटमा २३ लाख रुपैयाँ बचत गर्न सक्यौँ । असारबाटै अस्पतालमा गोपाङको पानी खसालेका थियौँ,’ उनले भने, ‘अहिलेसम्म परीक्षणको रूपमा हेरियो । लिफ्टमा केही समस्या आउँछ कि भनेको त्यस्तो केही भएन । अब अस्पताललाई आवश्यकता अनुसारको पानी खर्च गर्न सकिने भएको छ ।’
१५ शय्या क्षमतामा सञ्चालनमा रहेको बेलामा आपूर्ति हुने गरेको पानी अहिले ६० शय्यामा चलिरहेको अस्पताललाई यसै पनि कम भएको थियो । अस्पतालमा बनेका नयाँ भवनहरूमा बनेका आधुनिक शौचालयको लागि पनि पानीको आवश्यकता बढेको थियो । यो योजना आएसँगै अस्पतालको सेवा पनि झनै प्रभावकारी बनेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले बताए । अस्पतालमा आवश्यक सरसफाइ नहुँदा बिरामीको अवस्थामा झनै समस्या आउने तथा बिरामीका आफन्तहरूमा समेत सङ्क्रमण फैलिने जोखिम हुने भएकोले पानीको आपूर्ति २४ सै घण्टा हुनुपर्ने उनको भनाइ छ ।
पानीको सुविधा राम्रो भएसँगै डायलिसिस सेवा लिने बिरामीका लागिसमेत धेरै सुविधा भएको छ । अस्पतालमा डायलिसिस गर्ने बिरामीको संख्या अहिले २६ जना रहेको छ । डायालाइसिसका लागि चाहिने शुद्ध पानी निकाल्ने रिआरओ प्लान्टका लागि मात्रै दैनिक आठदेखि १० हजार लिटरको आवश्यकता पनि पूरा भएको छ ।
पानीको आपूर्ति नियमित भएसँगै अस्पताल सञ्चालक समितिका अध्यक्ष शङ्कर गिरी र अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष गुणराज शर्माले संयुक्त रूपमा उद्घाटन गरेका छन् । सोही अवसरमा योजना निर्माणमा सघाएका तथा जग्गादाताहरू रामप्रसाद आचार्य र नारायणप्रसाद आचार्यलाई सम्मानसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->