बागलुङ/बागलुङ नगरपालिका वडा नं. ४ स्थित श्री रंगवैकटेश मुक्तिनारायण मन्दिर कुँडुले फेदीको १९ औँ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा बोल्दै बागलुङ नगरपालिकाका कार्यवाहक नगरप्रमुख राजु खड्काले धार्मिक संरचनामार्फत बागलुङमा पर्यटकिय क्षेत्रको विकास हुँदै गएको चर्चा गरे ।
खड्काले कुँडुलेमा स्थापित शालग्राम संग्रालयका कारण मुक्तिनाथ पुग्ने अधिकांश पर्यटक बागलुङ भित्रिन थालेको भन्दै धर्म संस्कृति र पर्यटनको क्षेत्रमा मुक्तिनारायण मन्दिरले महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे ।
कार्यक्रममा बोल्दै पुर्व सांसद मनकुमारी केसी जिसी र जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक ऋषिराम कँडेलले धार्मिक सम्पदाको विकास गरी पर्यटक भित्राउन सबैले आ–आफ्नो ठाउँमा योगदान गर्नुपर्नेमा जोड दिएका थिए ।
मन्दिर व्यवस्थापन समितिका सचिव रामकृष्ण सापकोटाले प्रगति र कोषाध्यक्ष विदुरप्रसाद शर्मा पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । मन्दिरको गत वर्षको आम्दानी २ करोड ७४ लाख १५ हजार २ सय २ र खर्च २ करोड ७४ लाख १५ हजार २ सय २ रुपैयाँनै भएको कोषाध्यक्ष पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यको अध्यक्षता, उपाध्यक्ष हरिप्रसाद उपाध्यायको स्वागत र सचिव रामकृष्ण सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।
साधारण सभाको अवसर पारेर मन्दिरमा अन्नुट उत्सव समेत गरिएको थियो । मन्दिरमा ८४ प्रकारका भोजनको भोग लगाईएको छ । अन्नकुट उत्सव तथा नयाँ खेतीपाती थन्काईसकेपछि अन्नदोष नास गर्नका लागि वर्षेनी गर्ने चलन रहेको मन्दिर व्यववस्थापन समितिका अध्यक्ष तथा शालग्राम संग्राहलयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिए ।





