तस्बिर : याम थापा
बागलुङ/धार्मिक पर्यटकको रुपमा भारतीयहरु प्रसस्त देखिएपनि युरोप, अमेरिका लगायतका देशका पर्यटक बागलुङमा उस्तो देखिंदैनन् । अन्नपूर्ण, धौलागिरी बेसक्याम्प, मुक्तिनाथ, तिलिचो र पोखरामा देखिने पर्यटक बागलुङमा देख्न पाईदैन ।
तर, भेगन समुहका पर्यटक भने बागलुङमा नियमित जसो आउने गर्छन् । दक्षिण एशियामै भेगन समूहको थोरै रुट छन् । ती रुटमा पर्यटक आउने क्रम हुँदा बागलुङमा पनि नियमति आउने गरेका हुन् ।
भेगन समूहका लागि छनौट भएका थोरै रुटमध्ये मुक्तिनाथ पछिको बागलुङ रोजाइमा पर्छ । बागलुङको भकुण्डे, रायडाँडाको बौद्व गुम्बा र रेशको बौरसम्म भेगन समूहले रुचाएको रुट हो । यो रुटमा उत्तरतर्फ फर्केर हेर्दा हिमालको श्रृंखला देखिन्छ । बस्तीमा पसेर किसानको बारीमा काम गर्न पाउने र बेलुकी होमस्टेमा बसेर रमाउन पाउने भएकोले पर्यटकले यो रुट रोजेको पर्यटन व्यवसायी महादेव शर्माले बताए ।
बिहान सूर्योदय देखिने, एकै स्थानबाट तीनवटा जिल्लाको भूगोल अबलोकन गर्न सकिने । यी सबैको गन्तव्य रहेको बागलुङको ‘भेगन ट्रेकिङ ट्रेल’ पर्यटकको रोजाइमा परेको हो । यो रुटमा विदेशका भेगन समूह नियमित आउने गर्छन् भने नेपाली भेगन समूह र अन्य पर्यटक पनि आउने गर्छन् । दशकअघि रेखांकन भएको बागलुङ सदरमुकामदेखि भकुण्डे, सिगानाहुँदै रेशको बौरसम्म जाने भेगन ट्रेकिङ ट्रेल बनेको छ । यो ट्रेलमा हरेक वर्ष भेगन समूहका पर्यटक आउने क्रम बढेको छ । ्ती पर्यटकले घुम्ने मात्र हैन, स्थानीयको काममा पनि साथ दिन्छन् । समुन्द्री सतहदेखि १ हजार ९ सयदेखि २ हजार ५ सय मीटर सम्मको उचाइमा रहेको यो रुटमा पर्यटकहरु हिमाल हेर्ने, अर्गानिक खाना खाने र रमाउने गरी आउने गर्छन् ।
पछिल्लो ५ वर्षदेखि यो रुट भेगन समूहका लागि चर्चित छ । बेलायत, अमेरिका र युरोपका अन्य देशका पर्यटक यहाँ आउने गरेका छन् । यो रुटमा आन्तरिक पर्यटक र विदेशी समेत नियमित पुग्छन् । भेगन समूह आउने बेला व्यवसायीले पहिलेनै जानकारी दिएपछि रुट भित्रका होटल तथा रेष्टुरेन्ट र होमस्टेले भेगन खानेकुराको जोहो गर्छन् । यो रुटमा नेपाली भए दुई दिन र विदेशी भए ६ दिनको यात्रा गर्दै आएका छन् । यो रुटमा पर्ने होमस्टेलाई पनि भेगन फ्रेन्डली बनाइएको छ ।
अन्तराष्ट्रिय भेगन अर्गनाइजेसन र नेपाल भेगन समूहले संयुक्त रुपमा यहाँको रुटमा समय मिलाएर साता दिनको भ्रमण तालिका समेत बनाएका हुन् । उनीहरुले ती स्थानका स्थानीयसँग मिलेर काम गर्ने र मनोरञ्जन लिने गर्छन् । पशुजन्य उत्पादन नखाने र प्रयोग नगर्नेहरु भेगन समूहमा छन् । आलु, भाँगो, मकै, जौ र गहुँका परिकार उनीहरुले धेरै रुचाउने गरेको स्थानीयले बताए ।
भकुण्डेस्थित बराह ताल अबलोकन, अतिथि सत्कार होमस्टेमा बास, सौर्यबाट सूर्योदय अबलोकन, मुलाबारीबाट धौलागिरि, अन्नपूर्ण र माछापुच्छ«े लगायतका हिमश्रृंखलाको अबलोकन समेत गर्छन् । भकुण्डेमा बास बसेपछि पर्यटकले दैनिक ३ घण्टा सम्मको पैदल यात्रा गर्ने र समुदायमै बस्ने गरेका हुन् । ‘भेगन समूहका पर्यटक पैदल हिंड्न बढी रुचाउँछन्’ भकुण्डेका होमस्टे संचालक खिमबहादुर थापाले भने, ‘अन्न र फलफूल खाने भएकोले सोही प्रकारका सामाग्री तयार पार्छौ ।’
भ्रमणमा आएकी बेलायती पर्यटक मेडीले नेपाली संस्कृति र खेतीपाती भित्राउने समयमा रमाउन पाएको बताइन् । उनले कृषिजन्य उत्पादन बढाउन र स्थानीय रक्सीको ब्राण्ड गर्न पनि सुझाव दिइन् । भेगन समूहका सदस्यहरु पर्यटक मात्र नभइ वातावरण संरक्षणको अभियान लिएर गाउँ पुग्ने गर्छन् । गत वर्ष यो रुटमा अन्तराष्ट्रिय भेगन अर्गनाइजेसनका अध्यक्ष ज्याक समेत घुम्न आएका थिए ।









