मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

स्वदेशी पुँजीबाटै रोजगारी बढाउन सकिन्छ : अध्यक्ष ढकाल

स्वदेशी पुँजीबाटै रोजगारी बढाउन सकिन्छ : अध्यक्ष ढकाल


  • ढोरपाटन संवाददाता
  • मंसिर १ २०८१, शनिबार

बागलुङ/नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले युवाहरु विदेश पलायन हुने भन्दा स्वदेशमा लगानी गरेर आफ्ना साथीलाई रोजगारी बनाउनेमा लाग्नुपर्ने बताएका छन् । उनले त्यो अभियानमा महासंघ र आफ्ना कम्पनीहरुले पनि साथ दिने बताएका छन् ।
ढकालले स्वदेशी पूँजि परिचालनबाटै ठूला उद्योग खोल्न र रोजगारी बढाउन सकिने बताएका छन् । त्यसका लागि युवाहरुले समयमै देशभित्रै काम थाल्नुपर्ने ढकालले बताए । लायन्स क्लब ३२५ जे को दोश्रो डिस्ट्रीक क्याबिनेट बैठकमा बागलुङ आएका ढकालले शनिबार उक्त धारणा राखेका हुन् ।
उनले विदेश गएमात्रै रोजगारी पाइन्छ, यहाँ केही छैन भन्ने भास्य त्याग्नुपर्ने बताए । लायन्स क्लबमा लागेका युवालाई पनि स्वदेशमै उद्यम गर्ने र लगानी बढाएर रोजगारी सिर्जनामा लाग्न उनले आग्रह गरेका थिए ।
ढकालले नेपालमै पर्यटन, कृषि, उर्जा र आइटिको क्षेत्रमा लगानी गर्न १० अर्बको कम्पनी तयार गरेको जानकारी दिए । उक्त कम्पनीमार्फत सयौं रोजगारी सिर्जना गर्न तयार रहेको भन्दै त्यसका लागि जिल्लाका उद्योगीलाई पनि रोजगारका काम थाल्न आग्रह गरे । कम्पनीले देशभित्रै काम गर्न खोज्नेलाई साथ दिने, कतिपय स्थानमा आँफै अगाडि सर्ने समेत ढकालले प्रतिवद्दता जनाए ।
पछिल्लो समय युवाहरु रोजगारीको लागि भन्दै विदेश पलायन भएकोमा उनले चिन्ता पनि व्यक्त गरे । विदेश जाँदैमा राम्रो रोजगारी नहुने, बरु समस्या थपिने भन्दै उनले युवा पलायन रोक्न अब उद्योगी व्यवसायीले यहीं काम थालनी गर्नुपर्ने सुझाव दिए । उद्योग व्यवसायका लािग राज्यले वातावरण बनाउनु पर्ने र त्यसबाटै सुखी नेपाली र समृद्द नेपालको परिकल्पना पुरा गर्न सकिने समेत ढकालले बताए ।
लायन्सको दोश्रो क्याबिनेट बैठकका लागि देशभरबाट १ हजार जना बागलुङ आएको बैठकका प्रचारप्रसार संयोजक गणेशराज लम्सालले बताए । उनीहरुले केही दिनदेखि ढोरपाटन, मुक्तिनाथ, बागलुङ कालीका मन्दिर, नेपालकै लामो झोलुंगे पुल र पञ्चकोट लगायतका स्थान घुम्दै छन् । यो बैठकले पर्यटनको विकास तथा स्वदेशमा लगानीका लागि उद्यमीलाई आब्हान गर्ने लगायत महत्वपूर्ण निर्णय समेत गर्ने डिस्ट्रीक गर्भनर मिलन थापाले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->