बागलुङ/बढ्दो बसाईसराई, घट्दो जनसंख्या र आन्तरिक आयका स्रोतहरु खुम्चिँदा नगरपालिकाकै अस्तित्व संकटमा पर्नेमा सरोकारवालले चिन्ता व्यक्त गरेका छन् । बागलुङको जैमिनी नगरपालिकामा चालु आर्थिक वर्षको प्रथम चौमासिकको सार्वजनिक सुनुवाइमा सहभागिले नगरमा घट्दो जनसंख्या र बढ्दो बसाईसराईबारे चिन्ता व्यक्त गरे ।
वडा नम्बर ८ को छिस्तीमा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका प्रमुख नर बहादुर पुनले प्रतिवर्ष नगरपालिकाको राजश्व कम संकलन हुँदै गएको भन्दै चालु आर्थिक वर्षमा राजश्व सुधार रणनीति तयार गरेर काम गर्न थालिएको बताए । बसाईसराई संसारभरिकै समस्याका रुपमा रहेको उल्लेख गर्दै उनले जैमिनीले बसाईसराई रोक्न शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार निर्माणमा योजनाबद्ध काम गरिरहेको दाबी गरे ।
नगरपालिकामा राजश्व कम संकलन हुनु, संघ र प्रदेशबाट आउने बजेट समेत कम हुँदा जनताको अपेक्षा अनुसार काम गर्न नसकिएको उनको भनाई थियो । बसाइँसराई जैमिनीको सबैभन्दा ठुलो चुनौती भएको भन्दै उनले नगरपालिकाले नागरिकको स्वास्थ्य र शिक्षाको सम्पूर्ण जिम्मा नलिए यो क्रम अझै बढ्ने बताए ।
‘बसाइँसराई जैमिनीको मात्र होइन्, राष्ट्रिय समस्या हो,’ पुनले भने ‘नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारीको सम्पूर्ण जिम्मेवारी सरकारले नलिए यो क्रम रोकिदैन्, तत्काल यो समस्या समाधान गर्न नगरपालिकासँग पर्याप्त बजेट छैन ।’ उनले बसाइँसराई बढ्दै जाने र राजश्व कम हुँदा नगरपालिकाको अस्तित्व समेत संकटमा परेको बताए ।
नगरपालिका हुनका लागि हिमाली जिल्लाको पहाडी क्षेत्र तथा पहाडी जिल्लामा कम्तीमा ४० हजार जनसंख्या हुनुपर्ने भएपनि जैमिनीको जनसंख्या घट्दै ३१ हजार ४ सय ३० रहेको र पाँच वर्षको औसत वार्षिक आम्दानी न्यूनतम ३ करोड हुनुपर्ने भएपनि जैमिनीको गत आर्थिक वर्षको आम्दानी १ करोड २३ लाख मात्र भएको हुँदा यसलाई वृद्धि गर्न नसके नगरकै अस्तित्व संकटमा पर्ने नगरप्रमुख पुनले बताए ।
सार्वजनिक सुनुवाईमा जैमिनीका उपप्रमुख हरिहर शर्माले बालमैत्री नगरपालिका, लिड विद्यालय, जैमिनीकी छोरी, जग्गा वर्गिकरण, सडक विकास गुरूयोजना जस्ता केही कार्यक्रम सुरु गरिएको र केही कार्यान्वयनको चरणमा रहेको बताए । उनले कृषि उत्पादनका आधारमा कृषकलाई अनुदान विरतण गरिने बताए ।

नगरपालकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर भुजेलले प्रथम चौमासिकमा नगरपालिकाले गरेका कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । भुजेलले योजना सम्झौता गर्ने, निर्माण गरिएका कानुन, विभिन्न कार्यक्रम र बजेटका विषयमा जानकारी गराए ।
कार्यक्रममा रघुनाथ पौडेल, केशवराज दर्जी, लक्ष्यबहादुर पुन, टेक बहादुर रायमाझी, नौरूपी पुन, सन्तबहादुर रायमाझी, दयाराम शर्मा, ओमकार पौडेल, डिलबहादुर श्रीष, भोजराज शर्मा पौडेल, डिलबहादुर दमैले जनप्रतिनिधि र कर्मचारीप्रति प्रश्न तथा जिज्ञासा राखेका थिए । उनीहरुले ग्रामिण सडकको स्तरोन्नती नहुँदा दैनिक सडक दुर्घटना बढेको, स्थानीयले उत्पादन गरेका उपजले बजार नपाएको, कृषि प्राविधिक नहुँदा कृषकलाई सास्ती भएको, दैनिक बसाईसराई बढेको, बाँदर पार्क निर्माणको काम अगाडी नबढ्दा बजेट फ्रिज भएको, सहज स्वास्थ्य र शिक्षामा सहज पहुँच नभएको लगाएतका प्रश्न उठाएका थिए ।
जनप्रतिनिधि, कर्मचारी, उनीहरुको काम गर्ने तौरतरिका, सेवा प्रवाहका विषयमा गुनासो, सुधार गर्नुपर्ने विषय र राम्रा पक्षबारे पिपुल्स मिडिया एण्ड रिसर्च सेन्टरले तयार पारेको सन्तुष्टी सर्वेक्षण पत्रकार नारायण रिजालले प्रस्तुत गरे ।
जैमिनीको आयोजना तथा पिपुल्स मिडिया एण्ड रिसर्च सेन्टरको सहजिकरणमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सह–सचिव सिर्जना पन्त, पत्रकार प्रकाश बराल र अर्जुन कार्कीले तयार पारेको टिप्पणी पत्रकार बरालले प्रस्तुत गरे । पत्रकार संगम घर्तीले आचारसंहिताका बारेमा जानकारी गराएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रम संस्थागत विकास तथा सुशासन समतिका संयोजक तथा वडा नम्बर २ का अध्यक्ष प्रेम प्रसाद सापकोटाको अध्यक्षता, वडा नम्बर ८ का वडा अध्यक्ष विमल श्रीष रानाको स्वागत तथा नेपाल पत्रकार महासंघ बागलुङका सह–सचिव तारानाथ आचार्यको सहजीकरणमा सम्पन्न भएको थियो ।





