मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

दशैंयता पर्यटकले भरिभराउ बागलुङ

दशैंयता पर्यटकले भरिभराउ बागलुङ

पर्यटक बढेपनि बागलुङमा अझै सुरक्षा व्यवस्था, आवस्यक पूर्वाधार, सुविधा सम्पन्न होटल र लज तथा पदमार्गहरु स्तरीय बन्न सकेका छैनन् ।


  • ढोरपाटन संवाददाता
  • मंसिर २ २०८१, आइतबार

बागलुङ/दशैपछि बागलुङका होटल दैनिकजसोः भरिभराउ छन् । सयौं पर्यटक बागलुङ घुम्न आउने क्रम बढेपछि होटलमा पर्यटकको घुईंचो नै लागेको हो । त्यतिमात्र हैन, बागलुङ भएर मुक्तिनाथ तथा रुकुमहुँदै राराताल, शे–फोक्सुण्डो, सुर्खेतसम्मको यात्रा गर्ने पर्यटक पनि बागलुङ बजार आउने क्रम बढेको छ ।
साथै, केन्द्रीय स्तरमा हुने कतिपय कार्यक्रम बागलुङमा सम्पन्न हुन थालेका छन् । शनिबार मात्रै बागलुङमा केन्द्रीय स्तरका दुइवटा कार्यक्रम सम्पन्न भए । लायन्स क्लबको डिस्ट्रीक बैठक र परिवार नियोजन संघको केन्द्रीय साधारणसभामा मात्रै देशभरबाट १ हजार २ सयबढी पाहुना बागलुङ आएका थिए । कार्यक्रममा आएका केहीले मुक्तिनाथ, केही ढोरपाटन र केही रारा तालसम्मको यात्रामा निस्केका छन् । केही पर्यटक कार्यक्रममा आउनु अघिनै ढोरपाटन पुगेर फर्केका छन् ।
नियमित घुम्न आउने पर्यटक त दैनिक सयौंको संख्यामा छ । उनीहरुको भीड बागलुङ कालिका मन्दिर, पञ्चकोट र लामो झोलुङ्गे पुलमा देख्न सकिन्छ । नियमित घुम्न आउने पर्यटकले दैनिक होटलमा कोठा पाउन मुस्किल भएको छ । कतिपयले त एउटै कोठामा ५ जनासम्म बसेर फर्किएको सुनाए । होटलको अभाव भएर बागलुङ घुमेर बेलुकी पोखरा पुगेको काठमाडौंकी यशोदा श्रेष्ठले बताइन् । बागलुङमा बस्दा कालीका मन्दिर दर्शन र पुलको अवलोकलनले मनै लोभ्याएको उनले बताइन् ।
होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेस राजभण्डारीले भ्रमणको संस्कृति बढ्दा पर्यटक बढेको बताउँछन् । उनले गन्तव्यको रुपमा भन्दा ट्रान्जिटको रुपमा धेरै पर्यटक आएको बताए । ‘मुक्तिनाथ र रारा ताल जाने पर्यटकका लागि बागलुङ प्रमुख ट्रान्जिट बनेको छ,’ राजभणडरीले भने, ‘गन्तव्य नै बागलुङ बन्ने क्रम बढेको छ ।’ लोकमार्गबाट बाटो खुलेपछि रुकुम, जाजरकोट, रारा ताल, शे–फोक्सिण्डो र सुर्खेत जाने पर्यटकले बागलुङको बाटो रोज्न थालेका छन् । लोकमार्गले कर्णालीका अधिकांश जिल्लाबासी बागलुङको बाटो पोखरा र काठमाडौं यात्रा गर्छन् ।
कालीगण्डकी करिडोर कालोपत्रे शुरु भएकोले पाल्पा, स्याङजा र बुटवलका पर्यटकले पनि बागलुङहुँदै मुक्तिनाथ सम्मको यात्रा गर्न थालेका छन् । पश्चिमका मानिस पोखरा, काठमाडौं र चितवनसम्म घुम्न निस्कंदा र लुम्बिनीदेखि मुक्तिनाथ यात्रा गर्नेले पनि बागलुङलाई ट्रान्जिट बनाइरहेका छन् । जसका कारण अहिले आन्तरिक पर्यटकको घुईँचो देखिन्छ । यसरी आएका पर्यटकमध्ये बागलुङमा दैनिक ३ हजार होटलले राख्ने गरेका छन् । दिउँसो घुमेर पोखरा पुग्ने त्योभन्दा बढी छन् ।
मुक्तिनाथ जानेका लागि बागलुङबाट स्कारपियो, जिप र बस समेत पाइन थालेको छ भने आँफै रिर्जभ गरेर आउनेहरुले पनि बागलुङ कालीका, पञ्चकोट र लामो झोलुङ्गेपुल भ्रमण गर्न थालेका ह्ुन् । रातो प्लेटका स्कारपियोमा आएका पाहुनालाई भने प्रहरीले दुःख दिएको पर्यटकले बताए । ‘हामीले रिर्जभ गरेर परिवार मिलेर आएका छौं, तर प्रहरीले चिट काटेर गाली समेत गर,े’ चितबनबाट आएका एक पर्यटकले भने, ‘रातो पिकअपले हाम्रै अघि यात्री बोकेर गयो, स्कारपियोलाई दण्ड तिराइयो ।’ उनले घुम्नका लागि कालोप्लेट मात्रै चढ्नुपर्ने हो र भन्ने प्रश्न गरे ।
यसरी पर्यटक बढेपनि जिल्लामा अझै सुरक्षा व्यवस्था, आवस्यक पूर्वाधार, स्तरीय होटल र लज तथा पदमार्गहरु स्तरीय बन्न सकेका छैनन् । बागलुङ नगरपालिकाले सदरमुकाम नजिकै दुर्लेनीमा पर्यटक लैजान पदमार्ग र अग्लो शिव मुर्ती बनाउन लागेको छ । चालु वर्ष १ करोड ५० लाख रकम विनियोजन गरेको यो परियोजना सम्पन्न भएमा यहाँको भकुण्डेसम्म पनि पर्यटक पुग्नेछन् । सदरमुकामदेखि भकुण्डे, सिगानाहुँदै रेशको बौरसम्म भेगन ट्रेकिङ रुट बनाइएको छ ।
समूहमा आएका विद्यार्थी, आमा समूह र अन्य संस्थागत पर्यटकलाई ती स्थानमा पु¥याउन नसकिएको पर्यटन व्यवसायी महादेव शर्माले बताए । ‘पाहुना त प्रसस्त आएका छन्, तर सदरमुकाम केन्द्रीत छन्, अब गाउँसम्म जोड्नुपर्छ,’ शर्माले भने, ‘त्यसका लागि केही पदमार्ग र गाउँमा आरामदायी होटल बन्नुपर्ने आवश्यकता ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->