बागलुङ/नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्व शिक्षा मन्त्री देबेन्द्र पौडेलले देशको परिस्थितीले फेरि माओवादी केन्द्रको खोजी भईरहेको बताएका छन् । नेकपा माओवादी केन्द्र बागलुङ जिल्ला समन्वय समितिको पूर्ण बैठकलाई बिहिबार गलकोटमा सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् ।
पौडेलले अहिले केपी ओली नेतृत्वको २ तिहाई गठबन्धनको सरकारका गलत क्रियाकलापका कारण जनतामा माओवादीप्रति सकरात्मक दृष्टिकोण बढिरहेको दाबी गरे । वर्तमान केपी ओली नेतृत्वको सरकार जनताको पक्षमा डेलिभरी दिन नसकेको, सुशासन र नागरिकमैत्री हुन नसकेको सचिव पौडेलको भनाई थियो ।
उनले भष्ट्राचार विरुद्वको अभियानमा माओवादी केन्द्र नेतृत्वको सरकार नै अग्रपंक्तिमा रहेको भन्दै माओवादी केन्द्रको पक्षमा अहिले जनलहर पैदा भईरहेको सुनाए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कृष्ण केसी, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य चन्द्र बुढा सागर र नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरेले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक राजिव घिमिरे गरेका थिए ।
बैठकले जिल्लाका १० वटै पालिकामा मंसिर दोस्रो हप्ताभित्र बैठक गर्ने र मंसिर मसान्तभित्र सबै पालिकामा सम्मेलन गर्ने निर्णय गरेको छ ।





