मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

कोरिडोरले बद्लिँदै दुर्गमको परिचय

कोरिडोरले बद्लिँदै दुर्गमको परिचय


  • ढोरपाटन संवाददाता
  • मंसिर १० २०८१, सोमबार

बागलुङ/काठमाण्डौंको बसपार्क क्षेत्रमा लामो समय सञ्चालनमा रहेको ‘होटल पञ्चासे’ अहिले गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा फस्टाईरहेको छ । दुवै छिमेकी राष्ट्र भारत र चीनलाई जोड्ने छोटो दूरीको कालीगण्डकी कोरिडोरले काठमाडौंमा चलिरहेको होटल अर्बेनीमा ल्याएको हो ।
पहाडी जिल्लाका लागि कोशेढुंगा बनिरहेको कोरिडोर धमाधम कालोपत्रे हुन थालेपछि होटलका सञ्चालक बाबुराम न्यौपाने काठमाडौं छोडेर अर्बेनी आए । काठमाण्डौंमा चलेको होटल छोराको जिम्मा लगाए । अर्बेनी झरेका न्यौपाने दम्पतिलाई अहिले उत्तरबाट दक्षिण र दक्षिणबाट उत्तर घुम्न आउने पर्यटकलाई स्वागत गर्न भ्याईनभ्याई छ ।
राष्ट्रिय गौरवको यो आयोजनाले धेरै ग्रामीण एरियालाई जोड्दै उत्तर–दक्षिण छोएको छ । कालीगण्डकी नदीको किनारैकिनार बनेको राजमार्गले बागलुङ र पर्वतका दुर्गम गाउँहरूलाई शहरसँग जोडेको छ । जसले गर्दा ग्रामिण क्षेत्रमा बिस्तारै व्यवसायीक वातावरण बन्दै छ ।
गुल्मीमा न्यौपाने मात्रै होइन,सदरमुकामबाट टाढा रहेका दुर्गम बस्तीलाई राष्ट्रिय राजमार्गले जोडेपछि गाउँको परिचय बदलिएको छ । कयौं होटल तथा रेष्टुँरा व्यवसायी कोरिडोर आसपासमा व्यवसाय सुरु गरेका छन् भने कुना–कन्दराका किसानले उत्पादनको बजारीकरणको सम्भावना देख्न थालेका छन् ।
आर्थिक वर्ष २०६७÷२०६८ बाट निर्माण शुरू भएको आयोजनाको कालोपत्रेको गर्ने काम तीव्र गतिमा भइरहेको छ । नेपाल–भारत बेलहिया (सुनौली) नाकादेखि मुस्ताङको कोरला नाका जोड्ने उद्देश्यले शुरू गरिएको उत्तर–दक्षिण व्यापारिक पारवहन मार्ग कालीगण्डकी कोरिडोर ४३५ किलोमिटर लामो छ ।


कालीगण्डकी कोरिडोर (गैडाकोट, राम्दी मालढुंगा) सडक आयोजनाले झण्डै दुई सय किलोमिटर कालोपत्रेको चरणमा छ । ‘पर्यटक मात्रै यो बाटो भएर हिँड्दा पनि व्यावसायिक वातावरण बन्छ,’ न्यौपानेले भने ‘ठूला शहरभन्दा नयाँ राजमार्गको आसपासको व्यवसाय फस्टाउँदो देखेर नै लगानी गरेका छौं ।’
कोरिडोरको पूर्व नवलपरासीको गैँडाकोटदेखि बागलुङको मालढुंगा तल्लो खण्ड २४० किलोमिटर छ । त्यस्तै मालढुंगादेखि मुस्ताङको चीन जोड्ने कोरला नाकाको दूरी १९५ किलोमिटर छ । दुबै खण्डमा धमाधम स्तरोन्नती र कालोपत्रेको काम चलिरहेकाले व्यावसायिक वातावरण बढ्दै गएको बागलुङ सरंगेका व्यवसायी विजय केसीले बताए ।
बुटवलबाट अब बाग्लुङ सदरमुकाम १५० किलोमिटर दूरीमा खुम्चिएको छ । नारायणगढ, मुग्लिन, पोखराहुँदै बागलुङ जान दैनिक ८ देखि १० घण्टाको यात्रा अब ४ घण्टामा छोटिँदै छ । यो सडक निर्माण पूरा भएसँगै देशको मुहार फेर्ने देखिन्छ । मालढुंगा, बेनी, जोमसोम हुँदै कोरला १९५ किलोमिटरको सडक ट्रयाक विस्तारको काम तीब्र गतिमा भइरहेको छ ।
माथिल्लो खण्ड बेनी तातोपानी, तातोपानी घाँसा, घाँसा कागबेनी, कागबेनीहुँदै जोमसोम खण्ड–खण्डमा ठेक्का लगाएर काम भइरहेको छ । यो १९५ मिटर खण्डको कूल लागत ६ अर्ब रूपैयाँभन्दा बढी छ । कोरिडोर ११ मिटर चौँडाइको हुन्छ । त्यसमध्ये ७ मिटर कालोपत्रे र दायाँ–बायाँ एक÷एक मिटर किनारा तथा एक मिटरको नाली निर्माण गरिएको छ ।


कोरिडोरका लागि सरकारले बजेटको सुनिश्चिता गर्न नसक्नु, प्रत्येक वर्ष बजेट कटौतीले लक्ष्य अनुरूप काम हुन नसकेको हर्मिचौर बलेवा ४४ किलोमिटर खण्डमा कालोपत्रेको काम गरिरहेको कालिका कन्ट्रक्सनका गुणस्तर म्यानेजर छकबहादुर गुरुङले बताए ।
कोरिडोरले दुई प्रदेशका ६ जिल्लाका २० लाख बढी जनसंख्यालाई सिधा सडक सञ्जालमा जोड्दै छ । कोरिडोरले यी क्षेत्रको कृषिजन्य उत्पादन, पर्यटन विकास, विद्युत् उत्पादनमा समेत ठूलो सहयोग पु¥याएको छ । ‘एक दशक अघिसम्म सडक सञ्जालले जोड्न नसक्दा गाउँबाट ठूलो संख्यामा शहर बजारमा बसाईंसराई गर्ने क्रम थियो,’ बागलुङको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा भने, ‘जब कोरिडोरको ट्रयाक खुल्यो, तब बसाईं सरेर केही मात्रामा भए पनि रोकिएसँगै धेरै आयामहरूको परिवर्तन ल्याएको छ ।’
कोरिडोरका कारण जनताको जीवनस्तरमा परिवर्तन आएको छ । व्यापार व्यवसायदेखि कृषि उत्पादनमा समेत वृद्धि भएको छ । किसानको उत्पादन गाउँदेखि सहरसम्म पु¥याउन सकिएको स्थानीय शिक्षक राजेन्द्र शर्मा बताउँछन् ।
चिनियाँ बौद्ध धर्मावलम्बीहरू बौद्ध शिक्षा अध्ययनकालागि लुम्बिनी तथा भारतको पटना यही मार्ग भएर पुगेको विश्वास गरिन्छ । भारतीय व्यवसायी कालीगण्डकीको किनारैकिनार चीनको कोरला पुग्ने गर्थे ।कालीगण्डकीको किनारैकिनार निर्माणाधीन कोरिडोरलाई सरकारले आर्थिक समृद्धिको ‘लाइफलाइन’ भन्दै राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । गरीबी निवारण, दिगो आर्थिक विकास र विकेन्द्रीकरणमा सहयोग पु¥याउने अवधारणाअनुसार १३ वर्ष अघिदेखि निर्माणकार्य शुरू भएको कोरिडोरमा नेपाली सेना र सडक विभागले ट्रयाक खोल्ने काम गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->