बागलुङ/‘हामी सबैको प्रतिवद्धता लैंगिक हिंसा अन्त्यको प्रतिवद्दता’ भन्ने मुल नाराका साथ लैंगिक हिंसा बिरुद्दको १६ दिने अभियान सोमबारदेखि बागलुङमा शुरु भएको छ ।
बागलुङ नगरपालिकाको आयोजनामा जिल्ला स्तरका सरोकारवालाले हिंसा अन्त्यका लागि पुरुष÷महिला दुवै शिक्षित र सचेत बन्नुपर्ने बताएका छन् ।
सोमबार बिहान बागलुङ बजारमा प्रभातफेरी गरेपछि कोणसभामार्फत सरोकारवालाले हिंसा नगर्ने र नसहने प्रतिवद्दता पनि जनाएका छन् ।
उनीहरुले हिंसारहित समाजको लागि राजनीतिक दल, सामाजिक संस्था, सरकारी निकायले हिंसाविरुद्ध आवाज उठाउनु पर्ने बताए । कार्यक्रममा महिला अधिकारकर्मीहरुले आर्थिक, सामाजिक र साँस्कृतिक रुपमा महिला र पुरुषको समान सहभागिता बनाउन सके हिंसा अन्त्य गर्न सकिने बताए ।
बागलुङ नगरपालिकाका कावा नगर प्रमुख राजु खड्काको अध्यक्षता, महिला तथा बालबालिका शाखा प्रमुख रचना आचार्यको संचालन र अन्तरपार्टी महिला संजाल बागलुङकी अध्यक्ष सीता सापकोटा कंडेलको स्वागतमा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य चम्पा खड्का, प्रतिनिधिसभाकी पूर्व सदस्य मनकुमारी केसी, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशसभाकी सचेतक कुशुम बुढा, प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त अवसरमा राजनीतिक दलका महिला संगठनका सदस्यहरु, ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय, पतन्जली योग शिविर, विभिन्न आमा समूह, सामुदायिक प्रहरी सेवा र स्थानीयको पनि सहभागिता थियो ।
अभियानअन्र्तगत हरेक दिन कुनै न कुनै काम गर्ने लक्ष्य राखिएको छ । बानपाका १४ वटै वडामा मंगलबारदेखि पालैपालो सचेतना अभियान, सरोकारवालासँग अन्तरक्रिया गरिने आचार्यले जानकारी दिइन् । मंसिर २५ गते जिल्ला स्तरमा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गरेर मुल समारोहमा पुरस्कार बितरण गरिने कार्यक्रम तय भएको बताइएको छ ।





