बागलुङ/मानिसको जीवनको जोखिम न्यूनीकरणदेखि तेस्रो पक्षका सबै जोखिम न्युनिकरणका लागि बीमा अनिवार्य भएको सरोकारवालाले बताएका छन् । राज्यले पनि बीमालाई अनिवार्य बनाउनु पर्ने उनीहरुको सुझाव छ ।
नेपाल बीमा प्राधिकरणको आयोजनामा मंगलबार बागलुङमा भएको अन्तरक्रियामा सरोकारवालाले बीमालाई नागरिकको पहुँचमा लैजानुपर्ने बताए । नेपाल पत्रकार महासंघ बागलुङ तथा सरोकारवाबीचको अन्तरक्रियामा प्राधिकरणका गण्डकी प्रदेश प्रमुख केशवप्रसाद दाहालले बीमा बारेका भ्रम चिरेर आम नागरिकको पहुँचमा पु¥याउनु पर्ने बताए ।
उनले बीमा कम्पनी र एजेन्टले गरेका भ्रमपूर्ण प्रचार भए हटाएर आम नागरिकको जीवनलाई जोखिम न्युनिकरण गर्ने, कृषि तथा पशुपालन व्यवसायलाई सुरक्षित बनाउने तथा सवारी दुर्घटनाबाट हुने क्षति समेत फिर्ता पाउनका लागि पनि बीमा अति आवश्यक भएको बताए ।
कार्यक्रममा प्राधिकरणका सहायक निर्देशक सुदिप गिरीले बीमाको आवश्यकता र चुनौतीबारे प्रस्तुतिकरण गर्दै बिमाको महत्व, बीमालाई ग्रामीण क्षेत्रमा पहुँच बढाउने, आर्थिक क्षति न्यूनीकरणको पूर्वतयारी, लघु बीमा र कृषि बीमा लगायतको विषयमा जानकारी गराए । बिपदबाट हुने क्षति न्यूनीकरण, बीमा कम्पनीबाट कोही पीडित भएमा जिल्ला अदालत सरहको कानूनी उपचार पाउने प्राधिकरणको व्यवस्थाबारे पनि प्रष्ट्याए ।
नेपालको बित्तिय प्रणालीलाई व्यवस्थित गर्न नेपाल राष्ट्र बैंक, बीमा प्राधिकरण र धितोपत्र बोर्डले खेल्ने भूमिकाबारे पनि उनले जानकारी गराए । नेपालमा अहिले १४ वटा जीवन बीमा, १४ वटै निर्जीवन बीमा, ७ वटा लघु बीमा र २ वटा पुर्नबीमा कम्पनीले काम गरेको गिरीले जानकारी दिए ।
२०२५ सालमा स्थापना भएको बीमा समिति बीमा ऐन २०७९ बाट बीमा प्राधिकरणमा रुपान्तरण भएको र त्यसपछि आम नागरिककोमा बीमा पुग्ने प्रयास भएको समेत गिरीले बताए ।
पछिल्लो समय बीमामा आर्कषण बढेपछि कतिपयले शंका गर्ने, भुक्तानीमा समस्या हुने भन्दै बीमा गर्न नमान्ने चलनलाई चिर्दै प्राधिकरणले गण्डकी प्रदेशका सबै पालिकामा पुग्ने लक्ष्य बनाएको छ । प्राधिकरणले मंगलबार गरेको कार्यक्रम ५३ औं पालिका भएकोसमेत बताइएको छ ।
बिषेशगरी जीवन बिमाबाहेक बाढी पहिरो, दुर्घटना, चोरीजस्ता घटनाबाट बच्न पनि बीमा गर्न पाउने व्यवस्था छ । निर्जीवनतर्फ कृषि सम्पदा, घर बीमा लगायतको व्यवस्था रहेको कार्यक्रममा जानकारी गराइयो । बीमा दाबी गर्दा अटेर भएमा कानूनी कारवाही गर्न सकिने व्यवस्था छ । त्यसका लागि बीमितले छिटो क्षतिको बिवरण दिनुपर्ने व्यवस्था छ । त्यसका लागि जनचेतना फैलाउने काम चुनौतीको बनेको छ । ग्रामीण क्षेत्रमा बीमा शिक्षा बढाउनुपर्ने सुझाव समेत कार्यक्रममा दिइएको थियो ।
बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख केशवप्रसाद दाहालको अध्यक्षता, सहायक निर्देशक सुन्दर प्रसाद शर्माको संचालन र बलराम लामिछानेको स्वागतमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव विजय रानाले किसानको बाली र पशु बिमाको दायरा बढाउन र बीमा कम्पनीहरु गाउँ पुग्न सुझाव दिएका थिए । किसान र मजदुरको पहुँचमा नगएसम्म बीमा कम्पनीको उद्देश्य र नागरिकको सुरक्षा पनि नहुने उनले टिप्पणी गरे ।
कार्यक्रममा पत्रकार महासंघ बागलुङका सहसचिव तारानाथ आचार्य, कोषाध्यक्ष खेमराज गौतम सुवास, सदस्य नारायण रिजाल, संगम घर्तीमगरलगायतले आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा जिल्लामा क्रियाशिल सबै जीवन तथा निर्जिवन बीमा कम्पनीका प्रतिनिधि समेत सहभागी थिए ।





