बागलुङ/पोखरा बागलुङ सडकको पातीचौर बजारबाट एक घण्टा पैदल यात्रामा उनको घर पुगिन्छ । पुरानो घरको बार्दलीदेखि बारीका डिलमा जतासुकै मौरीका घारैघार छन् । तीनै मौरीको स्याहारमा उनले ३० वर्ष बिताइसकेका छन् ।
पर्वतको मोदी गाउँपालिका वडा नं. २ का टिकाराम तिमिल्सिना मह उत्पादनमा निकै कहलिएका छन् । सेरेना जातको मौरीबाट उनले वर्षमा ३ क्वीवन्टलदेखि साँढे ३ क्वीन्टलसम्म मह उत्पादन गर्दै आएका छन् । यति धेरै मह उत्पादन गरेरपनि उनले घरबाटै बेच्ने र मनग्ये कमाइ गर्न सकेका छन् ।
उमेरले उनी ७२ वर्ष भए । तरपनि उनको जोश तन्नेरी जस्तै छ । गतवर्ष बिरामी परेर पायल्सको अपरेशन गरेपछि केही समस्या परेपनि उनले मह उत्पादनमा भने कमी गरेका छैनन् । बिहान उठेर भैसीको स्याहार गरेपछि दिउँसोको काम मौरीघार स्याहार्ने हो । मह काढ्ने, प्रशोधन गरेर बट्टामा एक÷एक केजीको बनाएर राख्ने । अर्डर आएअनुसार उपभोक्तालाई पठाउने । खरिद बिक्रीको लागत राख्ने गर्छन् ।
तमिल्सिना मेहेनतको अर्को उदाहरण भएको उनकै छिमेकी समेत बताउँछन् । त्यसो त उनले लामो सुन्तलाको पनि व्वयसाय गरे । घर वरिपरी ५ सय सुन्तला लगाएका थिए केही वर्षदेखि आएको रुख सुक्ने रोगले अधिकांस सुन्तला सखाप बनायो । घरबाटै वर्षेनी डेढलाख रुपैयाँको सुन्तला बेच्ने टिकारामको कमाइ केही वर्षदेखि खस्कियो । तर उनले मौरीपालन भने नियमित बनाएका छन् । नियमित उत्पादन मात्र हैन, अर्गानिक उत्पादन बनाएर सबैको रोजाइमा पनि पर्न सफल भएका छन् ।
पातीचौर बजारबाट गाडीमा १५ मीनेटमा उनको घर पुगिन्छ । सडकले जोडिएकोले उनको घर जानेले हिंड्नु पर्दैन । त्यसैले उनले उत्पादन गर्ने मह बिक्रीका लागि घरमै ग्राहक पुग्छन् । बारीभरि राखिएका मौरीको घारको फोटो समेत खिचेर धेरैले लैजाने गरेका छन् । कतिले त आजकल सामाजिक संजालमा पनि राख्ने गरेकोले उनको मेहेनतको प्रचार समेत भएको छ ।
उनको बारीमा अहिले पनि ५० बढी घरमा मौरी छन् । मौरीले वर्षको ३ देखि ४ पटकसम्म मह दिन्छ । उक्त मह उनले अर्डर अनुसार बेच्ने गरेका छन् । ‘धेरै जना त घरमै आएर लैजानुहुन्छ’ तिमिल्सिनाले भने, ‘बागलुङ, कुश्मा र पोखरासम्म जाने आउने बेलामा पनि मह लगेर बेच्छु ।’ गतवर्ष पनि २ लाख बढीको मह घरबाटै बिक्री भएको र बाहिर लगेर डेढ लाख बढीको मह बेचेको उनले सुनाए ।
उनको महमा मिसावट छैन । गाउँमा अर्गानिक खेती गरिन्छ । मौरीले पनि अर्गानिक खेतीको रस ल्याउने भएकोले मह स्वादिलो र कहिले पनि नबिग्रने गरेको उपभोक्ता पनि बताउँछन् । ‘मैले धेरै पटक उनको घरबाट मह ल्याएर परिवारलाई खुवाएको छु, मैले पनि खाएँ निकै स्वादिलो र अर्गानिक छ’ कुश्मास्थित शितल डेरीका संचालक शिव शर्मा पौडेलले भने, ‘पसलमा पनि राखेर धेरै बिक्री गरेको छु ।’ तिमिल्सिनाले घरबाटै प्रतिकेजी १ हजार ५ सय रुपैयाँमा मह बिक्री गरेको बताए ।
पछिल्लो २५ वर्षदेखि उनले मौरी पालेर नियमित मह बेचेका छन् । शुरुवातमा घार र मौरी भित्राउन उनले गरेको लगानीपछि मौरी पालनमा खासै खर्च नआएको उनले बताए । यो अनुभवले मौरीलाई उनले हिराको संज्ञा दिन्छन् । भन्छन्, ‘सुन्तला सुन हो भने मौरी हिरा हो ।’ महलाई मिलाएर खान जानेमा मानिस स्वस्थ्य बन्ने, तागत दिने लगायतको फाइदा हुने उनले बताए । ‘मोटाउनु छ भने मनतातो दूधमा मिलाएर बेलुकी खानु’ तिमिल्सनाले भने, ‘मोटोपन घटाउनु छ भने मनतातो पानीमा मिलाएर बिहान खानु ।’ उनले यो विधि सबैलाई बताउने गरेका छन् । उनी बिरामी भएर चितवनस्थित अस्पतालमा बस्दापनि मह खान भने छाडेनन् । डाक्टरले पनि उनको नियमित मह सेवनलाई राम्रो मानेका थिए ।
मौरीको प्रमुख शत्रु अरिंगाल हो । हिउँदमा घारमा आएर अरिंगालले मौरी मार्छ । त्यसैले दिनभर हेरालो बस्नुपर्छ । तिमिल्सनाले दिउँसोको समय बारीमा हेरालो बस्ने गरेको सुनाए । यो काममा पत्नि पवित्रा र बुहारी लक्ष्मीले सघाएका छन् । उनका जेठो छोरा भने बैदेशिक रोजगारीमा छन् । कान्छो छोरा चितवनमा जागिरे । छोराहरुले चितवन बोलाएर पनि तिमिल्सिना जान मानेनन् । वर्षौदेखि घरमा गरेको काम र व्यवसाय छाडेर बेरोजगार बन्न मधेस नझर्ने निधो गरेको उनले बताए । बरु चाडपर्वमा मात्र भएपछि छोराछोरी घरैमा आइदिए हुन्थ्यो भन्छन् उनी ।
उनको मेहेनत देखेर कृषि ज्ञान केन्द्र र गाउँपालिकाले पनि अनुदान दिएका छन् । अनुदान पाएर उनले मह प्रशोधन मेसिन खरिद गरेका छन् । साथै मौरीघार बढाउने योजना पनि उनको छ । उनको मेहेनतलाई स्थानीय तहले पनि सम्मान गरेको छ । उनलाई मेला महोत्सवमा पालिका र जिल्ला तहमा पुरस्कार समेत दिइएको छ ।





