शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

पोखरामा मेलम्चीपछिको दोश्रो ठुलो खानेपानी आयोजना संचालनमा

पोखरामा मेलम्चीपछिको दोश्रो ठुलो खानेपानी आयोजना संचालनमा


  • ढोरपाटन संवाददाता
  • मंसिर १४ २०८१, शुक्रबार

पोखरा/निर्धारित समयभन्दा ४ वर्ष ढिलागरि पोखरामा मेलम्चीपछिको दोश्रो ठुलो आयोजनाको शुक्रबार उद्घाटन गरिएको छ । २०७३ साल फागुन ४ गते जापानी सहयोग नियोग (जाइका)ले कास्कीको पोखरामा खानेपानी वितरण सुधार परियोजनाका लाग्ने लागत रकम अनुदान स्वरुप दिने विषयमा सहमति भएको थियो ।
जाइकाले उक्त परियोजनाका लागि नेपाल सरकारलाई ४ अर्ब ५२ करोड (जापानी ऐन ४ अर्ब ८१ करोड ३ लाख) अनुदान सहयोग गर्ने सहमति भएको थियो । अनुदान लिने सहमति हुँदाताका नै सन् २०२० भित्रमा परियोजना निर्माण सक्ने र पोखरेलीलाई पिउन मिल्ने पानी वितरण भइसक्ने अनुमान थियो ।
तर, निर्धारित समयभन्दा चार वर्षपछि सम्पन्न उक्त परियोजना शुक्रबार खानेपानीमन्त्री प्रदीप यादवले उद्घाटन गरेका हुन ।
१२ किलोमिटर टाढाबाट मर्दीखोलाको पानी ल्याएर पोखरेलीलाई वितरण गर्ने यो आयोजनाको संरचना निर्माणका सबै काम सकिएको छ । खानेपानी संस्थान पोखराका प्रमुख आशिष कार्कीले संरचनागत काम ९९ प्रतिशत सम्पन्न भएको जानकारी दिए ।
हाल पोखराको सहरी भेगको १९ वटा वडामा आठ करोड ७० लाख लिटर पानीको माग छ । जसमध्ये ६ करोड ७७ लाख लिटर पानी मात्र उपलब्ध छ । खानेपानी संस्थानले मर्दी खोलाबाटै थप ५० लाख लिटर पानी पोखरा ल्याउनको लागि अर्को आयोजनाको टेन्डर खुलाइसकेको छ ।
मर्दीखोलाको धमिलो पानी प्रयोग गर्दै आएका पोखरेलीका लागि मुहानदेखि नै शुद्धीकरण गरेर धाराबाट सिधैं पिउन सकिने पानी पु¥याउने आयोजनाको लक्ष्य हो । राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डअनुसार प्रशोधन गरिने आयोजनाअन्तर्गत पानीको मुहान मर्दीखोलाबाट ग्रिट च्याम्बर हुँदै ल्याइएको पानी पुरुन्चौरमा निर्माण गरिएको ट्रिटमेन्ट प्लान्टमा शुद्धीकरण गरिन्छ ।
यसअघि मर्दी खोलाबाट २० इन्च र १६ इन्च क्षमताका २ वटा ठूला पाइपबाट ४ करोड ४० लाख लिटर पानी करिब १० किलोमिटर टाढा बिन्ध्यावाासिनीस्थित ट्यांकीमा खसालेर सामान्य क्लोरिनेशन गरेर वितरण गरिँदै आएको थियो ।
अहिले भने पानीलाई पोखरा महानगरपालिका हेम्जामा निर्माण गरिएको ग्रिड च्याम्बरमा खसालिन्छ । यहाँ खोलाबाट पानीसँगै आएका ढुङ्गा, गिट्टी, रुखका हाँगाबिँगा तथा झारपात छानिन्छ ।
त्यसपछि सेडिमेन्टेशन ट्यांकीमा पठाएर पानी थिग्राएर बालुवा सिल्ट र धमिलोपन हटाउने कार्य हुन्छ ।
त्यसपछि पुरनचौरमा बनाइएको स्लो स्यान्ड फिल्ट्रेशन युनिटमा पानीलाई थप प्रशोधन गरिन्छ । मसिनो बालुवा, मोटो बालुवा, गिट्टी र अझ ठूलो गिट्टी गरी पाँचवटा तहमा पानी छानिएर छ वटा पोखरीमा पानी राखिने बताइएको छ ।
ती पोखरीमा पानीलाई क्लोरिनेशन गरी अर्को पोखरीमा पु¥याएपछि पानीको शुद्धीकरण प्रक्रिया पूरा हुन्छ । यसरी शुद्धीकरण गरिएको पानी वितरण प्रणाली भएर उपभोक्ताको घरघरको धारामा पुग्छ ।
शुद्धीकरण गरिएको पानी जम्मा गर्न पोखरा–११ फूलबारी, वडा ५ पस्र्याङ र वडा १५ कोलपाटनमा २०÷२० लाख लिटर क्षमताका ३ वटा रिजर्भवायर ट्यांकी निर्माण गरिएको छ ।
मर्दीखोला मुहानबाट २० र १६ इञ्चका छुट्टाछुट्टै २ पाइपमार्फत पोखरा बजारमा पानी ल्याएर वितरण हुन्छ । पोखराको ८० प्रतिशत उपभोक्ताका घरमा मर्दीको पानी वितरण हुनेछ ।
मेलम्चीपछिको ठूलो भनिएको यो आयोजनाबाट पोखरा महानगरको वडा नम्बर १ देखि १९ सम्म करिब पाँच लाख जनसंख्या लाभान्वित हुने अपेक्षा खानेपानी संस्थानको छ ।
पानी शुद्धिकरणको यो आयोजना निर्माण भएसँगै अब ५ लाख जनसंख्याले धाराबाट सिधै पिउन सक्ने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए ।
पानी शुद्धिकरणको लागि निर्माण भएको यो आयोजना अन्तर्गत १ सय १० किलोमिटर पाइप बिच्छ्याएर पानी वितरण हुनेछ ।
खानेपानी भण्डारण गर्न पोखराको फूलबारी, पस्र्याङ र कोलपाटनमा ओभरहेड ट्यांकी निर्माण गरिएको छ । यी मध्ये कोलपाटनको ओभरहेड ट्यांक भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कारण सञ्चालनमा आउनेछैन ।
पोखरा १५, कोलपाटनमा बनेको ट्यांकी चाहिँ नेपाल नागरिक उड्डयन प्राधिकरणले भत्काउनुपर्ने बताएपछि अलपत्र रहेको छ । नागरिक उड्डयन प्राधिकरणले ३१ मिटर अग्लो ट्याङ्की काटेर १५ मिटरमा झार्नुपर्ने अडान लिए पनि जाइकाले सो सर्त नमानेपछि परियोजना जे–जस्तो अवस्थामा छ, त्यस्तैमा हस्तान्तरण गरिएको हो । हवाई उडानमा बाधा उत्पन्न हुने भन्दै नागरिक उड्डयन प्राधिकरणले सो ट्यांकी काट्न माग गरेको र त्यसको लागत नै ६४ करोड रुपैयाँभन्दा बढी हुने देखिएपछि जाइकाले सो माग अस्वीकार गरेको हो । कोलपाटनको ३१ दशमलव आठ मिटर अग्लो ओभरहेड ट्यांकीबाट ट्यांकीबाट पोखरा का १०, १४, १५ र १७ का करिब ३४ हजार जनसंख्यालाई खानेपानी वितरण गर्ने लक्ष्य थियो । २०७६ को कात्तिकतिर ट्यांकी निर्माण थालिएको थियो । तर, उड्डयन प्राधिकरणका कारण यो ट्यांकी भने अलपत्र परेको छ ।
बाँकी दुई ठाउँबाट भने पानी वितरण सुरु भइसकेको कार्कीले जानकारी दिए । यो आयोजना सन् २०१७ मा पोखराको जनसंख्यालाई आधार मानी निर्माण सुरु गरिएको तर हाल पोखराको जनसंख्या वृद्धि भएको हुँदा आयोजनाले मात्र पानी पर्याप्त नहुने उनको भनाई छ ।
पोखराको विकासमा जापानी सहयोग परियोजना जाइकाको योगदान ठूलो छ । जाईका कै अनुदानमा निर्माण भएको यो आयोजनाले पोखराबासीलाई ठूलो राहत मिलेको छ । यसै आयोजनाकै कारण पोखरा र जापानका नागरिकबिचको सम्बन्ध अझ प्रगाढ बन्ने जाइकाकी उपप्रमुख तानाका तोमातोले बताइन ।
जापान सरकारको अनुदान सहयोगमा नेपाल खानेपानी संस्थान अन्तर्गत सम्पन्न पोखरा खानेपानी सुधार आयोजनाका संरचनाहरुको उद्घाटन गर्दै मन्त्री यादवले पोखरेलीले अब शुद्ध पानी पिउन पाउने बताए ।
“माछापुच्छ्रेको काखबाट शुद्ध खानेपानी पोखरामा ल्याएका छौँ, आजबाट शुद्ध र सुरक्षित खानेपानी बितरण सुरु भएको छ, जुन पानी शुद्ध अनि सफा छ, सिधै धाराबाट पिउन सकिने छ ।” उनले भने ।
यो आयोजनाबाट अब वर्षातमा हिलो मिसिएको पानी खानुपर्ने बाध्यता हटेको मन्त्री यादवले बताए । मेलम्चीपछिको ठुलो परियोजना सम्पन्न भएकोमा उनले खुशी व्यक्ति पनि गरे ।
“सरकार पोखराबासीलाई शुद्ध खानेपानी खुवाउनका लागि तयार छ, हामीले मेलम्ची पछिको ठूलो आयोजना सम्पन्न गरी पोखराबासीलाई शुद्ध पानी खुवाउन सफल भएका छौँ । अब पोखराबासीले हिलो मिसिएको पानी खानु पर्ने अवस्था आउने छैन्, आजबाट हिलो मिसिएको पानी धारामा आउँछ भन्ने गुनासो पनि समाप्त भएको छ ।” उनले भने ।
परियोजनामा सहयोग गरेको भन्दै उनले जापान सरकारलाई आभार व्यक्त गरे ।
“जापान सरकार र नेपाल सरकारबीचको यो सहकार्यले विकास निर्माणका परियोजनाहरूलाई समयमै सफलतापूर्वक सम्पन्न गर्न सम्भव भएको छ, यसका लागि जापान सरकार जाईकाप्रति हार्दिक आभार व्यक्त गर्दै खानेपानीका क्षेत्रमा थप सुधारका लागि हाम्रो प्रतिबद्धता जारी रहनेछ ।” उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->