बागलुङ/सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र बागलुङ नगरपालिका वडा नं. ३ गुठीले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत सोमबार र्याली प्रर्दशन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले हिंसामुक्त समाज निर्माणका लागि सकरात्मक सोचको आवश्यकता रहेको बताए । श्रेष्ठले पछिल्लो समय स–साना घरेलु हिंसाका घटना कमी आएको र जघन्य अपराधका घटना बढ्दै गईरहेको समेत चर्चा गरे ।
बागलुङ नगरलाई हिंसामुक्त बनाउन नगरकी छोरी कार्यक्रम, बालमैत्री तथा तनाव व्यवस्थापन सम्बन्धी कार्यक्रमहरु संचालन भईरहेको उनले जानकारी गराए । श्रेष्ठले महिला माथि हुने हिंसा अन्त्यका लागि आर्थिक सबलीकरण हुनुपर्नेमा जोड दिए ।
प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले सबैको साझा अभियानले मात्र हिंसारहित समाज निर्माण गर्न सकिने धारणा व्यक्त गरे । कार्यक्रममा अधिवक्ता लक्ष्मी बास्कोटा, ब्रम्हाकुमारी इश्वरिय विश्वविद्यालयका संचालिका सावित्री दिदी, अन्तरपार्टी महिला सञ्जालका संयोजक सिता सापकोटा र प्रहरी निरिक्षक सुनिल शर्माले मन्तव्य व्यक्त गरें ।
मुल समारोह पुर्व लैङ्गिक हिंसाविरुद्ध पञ्चकोट भजन समुहलगायत विभिन्न सरोकारवाला संघ संस्थाको सहभागीतामा र्याली प्रर्दशन गरिएको थियो । ज्ञानोदय वौद्ध बिहारबाट शुरु भएको र्यालीले बजारका विभिन्न भागको परिक्रमा गरि जिल्ला समन्वय समितिमा पुगेर मुल समारोहमा परिणत भएको थियो ।
कार्यक्रम सामुदायिक सेवा केन्द्रका अध्यक्ष लिलादेवी खड्काको अध्यक्षता, सदस्य शान्ति ज्ञवालीको स्वागत र सचिव सावित्री केसीको संचालनमा सम्पन्न भएको थियो ।





