मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

डीप फ्रिजमा दैनिक ३ हजार तिरेर शव राखिँदै !

डीप फ्रिजमा दैनिक ३ हजार तिरेर शव राखिँदै !

छोराछोरी विदेश हुन्छन्, उनीहरु आउँदासम्म लास राख्नको लागि फ्रिज आवश्यक भएको हो ।


  • ढोरपाटन संवाददाता
  • मंसिर १७ २०८१, सोमबार

बागलुङ/गत असोज ३ गते गुल्मीको अर्लाङकोटका अरुण खनालको मृत्यु भएपछि जापानमा रहेका छोराछोरी आइपुग्न तीन दिन लाग्यो । शवलाई गलकोट नगरपालिका ८ को काँडेवास स्वास्थ्यचौकीमा रहेको डीप फ्रिजमा सुरिक्षत राखियो ।
छोराछोरी फर्केपछि उनको दाहसंस्कार गरियो । तीन दिन डीप फ्रिजमा राख्दा खनाल परिवारले ९ हजार रुपैयाँ शुल्क स्वास्थ्य चौकीलाई बुझायो । शव राखेपछि स्वास्थ्य चौकीले बिद्युत र हेरालो राखेको प्रति २४ घण्टाको ३ हजार रुपैयाँ लिने गरेको छ ।
दुइ वर्षअघि राखिएको डीप फ्रिजमा २० परिवारले सेवा पाइसकेका छन् । सुरुवातमा त डीप फ्रिजमा शव राखेको शुल्क लाग्थेन । तर विद्युत महसुल बढी लाग्ने भएपछि स्वास्थ्य चौकीले यो व्यवस्थापन गरेको हो । वैदेशिक रोजगारीमा रहेका युवाहरु फर्कन ढिला हुँदा बाबुआमाको शव डीप फ्रिजमा राख्ने र शुल्क लिने चलन सुरु भएको हो । सानो खर्चमै शव राख्ने व्यवस्था भएपछि वैदेशिक रोजगारीबाट फर्केका युवाले दाहसंस्कार गर्दा शव गन्हाउने समस्या हटेको छ ।
गलकोट नगरपालिका ८ काँडेवासका चुडामणि कंडेलको निधन हुँदा जापानमा रहेका छोराहरु गुणखर, खिमलाल र ज्ञानप्रसादले यो डीपफ्रिज किनेका थिए । चार दिनपछि आइपुगेका उनीहरुले बाबुको काजकिरिया गराए । त्यसपछि स्वास्थ्य चौकीमा राखिएको डिपफ्रिज अहिले बैदेशिक रोजगारीमा रहेका युवा फर्कन ढिला हुँदा नियमित काम लागेको हो ।
स्वास्थ्य चौकीकी अनमी ज्ञानु काउचाले गाउँमा भएका घटनामा तत्काल सतगत नहुने अवस्था आएमा डीप फ्रीज प्रयोगमा आएको बताइन् । ‘एकदुई दिनमै आइपुग्ने अवस्था भए त घरमै राख्छन्, धेरै दिन लाग्ने भयो भने यहाँ ल्याउने चलन बसेको छ,’ काउचाले भनिन्, ‘आवश्यकता देखेपछि स्वास्थ्य चौकीले पनि विद्युत र हेरालोको व्यवस्थापन गराएका छौं ।’ चौबीसै घण्टा विद्युत आपूर्ति चाहिने र फ्रिज बनाउनु पर्ने भएकोले विद्युत पनि धेरै खर्च हुने गरेको उनले बताइन् ।
वडा नंं ८ को पचुवामा रहेको स्वास्थ्य चौकीमा पचुवालगायत गाउँका मानिसले मात्रै सेवा लिन्छन् । तर, मृत्यु भएको खण्डमा यहाँ ल्याउने गरिएको हो । गलकोट नगर अस्पतालमा पनि गतवर्ष स्थानीय झप्परबहदुर बस्नेतले ८ लाख खर्चेर मर्चरी (शवगृह) नै राखिदिएका छन् । यो मर्चरीमा पनि वर्षदिनमै १५ शव राखिएको अस्पतालका प्रमुख डा. राजेश पौडेलले बताए । अस्पतालले पनि विद्युतलगायतको शुल्क लिएर शव राखिदिने गरेको हो ।
गलकोट नगरपालिका वडा नंं ९ बाँस्खोलाकी चन्द्रकुमारी सापकोटा लडेर मृत्यु हुँदा पनि छोरा प्रकाश नआउन्जेल डिप फ्रिजमा राखिएको थियो । सुरुवातमा स्वास्थ्य चौकीले शुल्क नलिइ सेवा दिएको थियो । तर चौबीसै घण्टा विद्युत आपूर्ति चाहिने भएपछि शुल्क लिनैपर्ने बाध्यता भएको स्वास्थ्यकर्मीले बताए । ‘बिद्युत महसुल तिर्नै पर्छ, निशुल्क सेवा दिने कुरा संभव भएन,’ काउचाले भनिन्, ‘यो रकमबाट स्वास्थ्य चौकीकै हितमा खर्च गरिएको छ ।’ यो शुल्क महंगो पनि नभएको उनले बताइन् ।
बैदेशिक रोजगारीले युवा पलायन भइरहेको बेला यस्ता डीप फ्रिज आवश्यक बन्दै गएको स्थानीय टंक केसीले बताए । ‘घरमा कुर्ने पनि कोही छैनन्, संस्कार पनि धान्नै परेको छ, त्यस्तो बेला डीप फ्रिज उपयोगी भएको छ,’ केसीले भने, ‘युवा पलायन रोक्ने उपाय नभएपछि मृत्यु भएकालाई केही दिन त सुरक्षित राख्नैप¥यो ।’
घटना विशेषबाट मृत्यु भएकाहरुको नगर अस्पतालमा राखिएको हो भने कालगतिले मृत्यु भएकाहरुको स्वास्थ्यचौकीमा राख्ने गरिएको हो । ‘पोष्टमार्टम गर्नै पर्नेलाई अस्पताल नलगी भएन, सामान्य मृत्यु भएकाहरु यहाँ राखिन्छ,’ स्वास्थ्य चौकीका सूचना अधिकारी दिलबहादुर बिकले भने, ‘यो अहिलेको बाध्यता भैसकेको छ ।’ गलकोट क्षेत्रका अधिकांस युवा वैदेशिक रोजगारीमा जापान र युरोपमा गएका छन् । जापानमा बस्नेहरुले काँडेवास स्वास्थ्य चौकी, गलकोट नगर अस्पताल, नरेठाँटी स्वास्थ्य चौकीलगायत स्वास्थ्य संस्थामा एम्बुलेन्ससमेत सहयोग गरेका छन् ।
बिरामी पर्दा एम्बुलेन्सले धेरै सहयोग भएको गलकोट नगरपालिका वडा नंं २ का चन्द्रदत्त रेग्मीले बताए । मृत्यु भएको अवस्थामा भने शव कुरेर बस्ने मानिस पाउन मुस्किल भएकोले डीपफ्रीज उपयोगी भएको बताए । काँडेबास स्वास्थ्य चौकीकी प्रमुख प्रतीक्षा लामटाँगेले सुरुवातमा कोठामा राखेपनि अहिले भने बरण्डामा डिपफ्रिज राखिएको बताइन् । ‘नियमित विद्युत दिएपछि धेरै दिनसम्म शव सड्दैन’, उनले भनिन्, ‘धेरैजनाले यो सेवाको प्रशंसा गर्नु भएको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->