बागलुङ/लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत बुधबार कुश्मीसेरा बजारमा मावि तहमा अध्ययनरत छात्राहरु बीच ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा जनता मावि सर्कुवाका सुषुप्ती चालिसे प्रथम, शान्ति मावि कुश्मिसेराका विजया शर्मा द्वितीय, जनकल्याण मावि अर्जेवाका रचना थापा तृतीय र जनशिक्षित मावि अर्जेवाका मौसमी थापा सान्त्वना भएका छन् । विजेताहरुले क्रमशः ६ हजार, ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितमा जैमिनी नगरपालिकाका १३ विद्यालयका छात्राहरुले सहभागिता जनाएका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले सबैको सहभागिता र समन्वयका माध्यमबाट मात्रै लैङ्गिक हिंसाहरु अन्त्य गर्न सकिनेमा जोड दिएका थिए । यस्ता प्रतियोगिताहरुले विद्यार्थीहरुको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिमा सहयोग गर्ने भएकाले प्रतियोगितात्मक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्नुपर्नेमा उनीहरुको जोड थियो ।
कार्यक्रममा नगर प्रमुख नर बहादुर पुन, उपप्रमुख हरिहर शर्मा, प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर भुजेल, सामाजिक विकास समिति संयोजक एवं जैमिनी नगरपालिका १ का वडाध्यक्ष विष्णु प्रसाद आचार्य, कार्यपालिका सदस्य लाल बहादुर परियार, भगवती शर्मा सापकोटा, वडा सदस्य सिता विक, नगर शिक्षा समिति सदस्य नुम कुमारी देवी शर्माले मन्तव्य राखेका थिए ।
जैमिनी नगरपालिकाको आयोजना र सामाजिक विकास कार्यालय बागलुङको समन्वयमा आयोजित कार्यक्रममा जैमिनी नगरपालिकाका प्रशासन शाखा प्रमुख ललिता पुनले स्वागत मन्तव्य र महिला विकास निरीक्षक देवी सुनारले सञ्चालन गरेका थिए ।





