बागलुङ/नेपाल निजामती कर्मचारी युनियन, बागलुङ नगरपालिकाको प्रथम अधिवेसनले मित्रलाल सापकोटाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।
शनिबार भएको प्रथम अधिवेसनले सापकोटाको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा नेत्र सापकोटा चयन भएका छन् । त्यस्तै महिला उपाध्यक्षमा मञ्जु कार्की र समावेशी उपाध्यक्षमा किरण थापा चयन भएका छन् ।
समितिको सचिवमा गोकुल सापकोटा, सहसचिवमा राजु किसान र कोषाध्यक्षमा सुवास गैरे चयन भएका छन् । सदस्यहरुमा शारदा सुवेदी, सुरेश श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, प्रदिप भारती चयन भएका छन् । त्यस्तै गीता शर्मा, हरिप्रसाद शर्मा, पुरुषोत्तम गौतम, बिष्णुप्रसाद शर्मा र माधवी शर्मा पनि चयन भएका हुन् ।
अधिवेसनको उद्घाटन गर्दै नगर प्रमुख बसन्तकुमार श्रेष्ठले देशलाइ पद्दतीमा लैजाने काम कर्मचारीको भएको बताएका छन् । उनले राजनीतिक नेतृत्वको भिजनलाई कर्मचारीले कार्यान्वयन गर्दा मात्रै राज्य सफल हुने भन्दै स्थायी सरकारको रुपमा कर्मचारीले आम नागरिकलाई तटस्थ भएर सेवा दिनुपर्ने औल्याए । कर्मचारीकै साथ र सहयोगले जनप्रतिनिधि सफल हुँदा नगरपालिका अब्बल बन्ने भएकोले प्रतिकुल समयमा पनि कर्मचारीको साथ बाट मात्र नगरलाई अब्बल बनाउन सकिने बताए ।
जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले कर्मचारीले दिने सेवाबाट मिल्ने सन्तुष्टी रकमले किन्न नसकिने बताए । उनले समाजमा पाइने इज्जत र प्रतिष्ठालाई शिरमा राखेर काम गर्दा राज्य पनि सफल हुने बताए । उनले कर्मचारीहरुको ऐन नियम समयमा आउनुपर्ने समेत बताए ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा, प्रदेश सभापति हरिबहादुर जिसी सन्तोष, नगर सभापति उमाकान्त शर्मा बाबु, बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेल, आधिकारिक ट्रेड युनियन बागलुङका जिल्ला उपाध्यक्ष दुर्गाप्रसाद शर्मा लगायतले मन्तव्य राखेका थिए ।
युनियनका बागलुङ नगर अध्यक्ष मित्रलाल सापकोटाको अध्यक्षता, सचिव गोकुल शर्माको संचालन र माधवी गौतमको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त अबसरमा शाखा अधिकृत भएका सुवास सापकोटा र नव प्रवेशी काशीराम शर्मालाई सम्मान पनि गरिएको थियो ।





