बागलुङ/जन्मेको तीन महिनामा उनी बिरामी परेका थिए । शरीरमा साना गिर्खा पनि देखिएका थिए । परिवारका सदस्यले चासो राखेनन् । आर्थिक अवस्था कमजोर भएकोले सामान्य समस्यामा चासो पनि गरेनन् ।
बिस्तारै उनको शरीरका गिर्खा बढ्दै गए । घाँटी, पेट, छाती, खुट्टा र हातमा समेत गिर्खा बढ्दै गएपछि उनलाई धेरै असहज बन्दै गएको छ । निसीखोला गाउँपालिका वडा नं. ६ स्थित जनकल्याण माविमा पढ्ने २० वर्षका महेन्द्र बिक अहिले दुखेको र सुनिएको शरीरमा विद्यालय आउने गर्छन् । उनी अहिले कक्षा ६ मा पढ्छन् । शरीरका गिर्खा बढ्दै गएपछि दुख्न थालेको छ । तर आर्थिक अवस्था कमजोर भएकोले उपचारमा जान सकेका छैनन् ।
गाउँमा भएको एक स्वास्थ्य शिविरमा उनको शरीरको सामान्य परीक्षण भएको थियो । शरीरका ती गिर्खाहरु क्यान्सर हुन सक्ने आशंका समेत स्वास्थ्यकर्मीले गरेका छन् । त्यसैले विद्यालयका शिक्षकहरुले उनको उपचारका लागि सहयोगीको खोजी गर्न थालेका छन् ।
बाबु मनबहादुर र आमा तीर्थकुमारी ज्याला मजदुरी गर्छन् । खान लाउन नपुग्ने भएपछि उनीहरुले उपचार लगायतका अन्य काममा खर्च गर्न समेत सक्दैनन् । ‘आमाबाबुले केही गर्न सक्दैनन्, विद्यालय आएपनि शरीर दुख्ने गरेकोले महेन्द्र रुनेसम्म गर्छन्’ सहायक प्रअ डिल्लीराज सापकोटाले भने, ‘सहयोग जुटाएर उपचारमा पठाउन पाए राम्रो हुने थियो ।’ उनले भेटेका सबैलाई यो गुनासो सुनाउन थालेका छन् ।
उनको घाँटी सुनिएर डरलाग्दो भैसकेको छ । त्यसैले उनले खान र अन्य कामका लागि निहुरिन पनि सक्दैनन् । विद्यालय आएपनि पढ्न सकेका छैनन् । समयमा उपचार नगरे उनको जीवनमा समस्या आउने स्पष्ट भैसकेको हो । वडा अध्यक्ष हेमबहादुर बुढाले पनि ती बालकको उपचारका लागि सहयोगी खोजेको बताए । ‘वडाले एक्लै सहयोग गरेर कतै पठाउन सकेको छैन, आवस्यक सिफारिस गरेर सहयोगी खोजीमा लागेका छौं’ बुढाले भने ।
सामान्य उपचारले नहुने र निरन्तर दुखाइ हुने भएकोले तत्काल उपचारमा जानैपर्ने बाध्यता भएको उनको भनाइ छ । बिक दम्पत्तिले भने के गर्ने भन्ने कुनै योजना बनाउनै नसकेको बताएका छन् । मदजुरी बाहेक अन्यत्र नगएकोले बिक दम्पत्तीले छोराको उपचारका लागि याचना गरेपनि उनको सुनुवाई नभएको गुनासो गरे ।





