सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

तरकारीको बिरुवा बेचेरै लखपति

तरकारीको बिरुवा बेचेरै लखपति


  • ढोरपाटन संवाददाता
  • मंसिर ३० २०८१, आइतबार

बागलुङ/मिहिनेतले जस्तोसुकै काम पनि सफल हुन्छ भन्ने उदाहरण बनेका छन् बुर्तिवाङका एक अपांग । ढोरपाटन नगरपालिका ५ घर भई बुर्तिवाङ बजारमा कृषि पेशा गरेर बसेका युवराज कंडेल सफल किसानको रुपमा चिनिएका छन् ।
शारिरीक रुपमा अपांग भएपनि उनले मिहिनेतबाट परिवार पालेका छन् । छोराछोरीलाई पनि राम्रो शिक्षा दिन सकेका छन् । दुवै खुट्टाको समस्या भएकोले हात टेकेर हिंड्ने भएर पनि उनले कृषि पेशालाई व्यवसायिक बनाएका हुन् । जन्मदा त उनी दाजुभाइ दिदीबहिनी जस्तै थिए । तर, हिंड्ने उमेरमा जतिपटक लड्छन् त्यतिपटक खुट्टा भाँचिएर उनको शरीर अपांग भएको हो ।
ग्रामीण क्षेत्रमा हुने धेरै उपचार गरेर उनी निको नभएपछि अहिले व्यवसायिक बनेका हुन् । बाल्यकालमा उनको दुवै खुट्टा ६ पटकसम्म भाँचिएपछि उनी असक्त भएका थिए । सदरमुकामदेखि १ सय १० किमी परको नाथुरी गाउँमा जन्मेका कंडेल अहिले सफल किसान हुन् । ५० वर्षिय कंडेल अहिले नियमित बारीमा भेटिन्छन् । उनको खुट्टा अहिलेसम्म टेकिंदैन । नाम्लो जस्तै बेरिएका ती खुट्टाले टेकेर उठ्न सक्दैनन् । त्यसैले उनी हात टेकेर हिंड्छन् । खुट्टा खुम्चिंदै गएकोले होचो भैसकेका छन् ।
तर उनी आफ्नो अपांगताबारे कुनै चिन्तामा छैनन् । बरु हिम्मत बटुलेर बुर्तिवाङ बजारको सफल किसानको रुपमा उनी चिनिन थालेका छन् । अर्काको जग्गा भाडामा लिएर तरकारी खेतीमा रमाउन थालेका छन् । उनले वर्षमा २० हजार त भाडा तिर्छन् । पत्नि पुष्पासंगै शुरुमा ताजा तरकारी फलाएर बेचेका कंडेलले पछिल्लो ५ वर्षदेखि प्याज, काउली र बन्दागोभीका बिरुवाबाट मनग्ये कमाइ गर्न थालेका छन् ।
तरकारी खेतीबाट दैनिकी चलाउने मात्र नभइ उनले एक छोरी र दुई छोरा पढाएका छन् । झण्डै दुइ रोपनी जमिन भाडामा लिएका उनले बर्षमा प्याजका बिरुवाबाट २ लाख ५० हजार, काउली र बन्दाका बिरुवाबाट १ लाख ५० हजार बढी कमाइ गर्ने गरेको सुनाए । ताजा तरकारीबाट उनले वर्षमा डेढ लाखसम्म कमाउँछन् । ती सबै कामबाट वर्षमा ६ लाख सम्म कमाइ गरेर उनले सफलता कमाएको सुनाए ।
शारिरीक अपांग भएपनि उनले काम गर्ने हिम्मत नहारेपछि स्थानीय र संघसंस्थाले पनि साथ दिन थालेका छन् । सदरमुकाम बागलुङ बजारबाट तरकारीको बीउ मगाएर जमाउने काम पनि आफै गर्छन् । कुटो कोदालोबाट उनले जमिन खन्ने काम आँफै गरिरहेको भेटिन्छन् । पत्नि पुष्पको देब्रे हात छैन । त्यसैले उनले घर भित्रको काम गर्छिन् । नियमित बाहिरको काम गर्न नसकेपछि बेलाबेला पतिको काममा साथ दिन पुग्ने गरेकी हुन् ।
उनको मेहेनत बाट कृषि ज्ञान केन्द्र र फेयरमेड फाउण्डेसन र बिवाईसी बागलुङले संचालन गरेको ग्रामीण स्वास्थ्य सुधार परियोजनाले आयआर्जनमा साथ दिएका छन् । परियोजनाले बीउ पूजिको रुपमा गत आर्थिक वर्ष १५ हजार सहयोग गरेको थियो भने केन्द्रले प्राविधिक र टनेल बनाउने काममा साथ दिएको कंडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->